पर्यटन/संस्कृति

उभौली (साकेला)का अवसरमा यलम्बर सांस्कृतिक कार्यक्रम गर्ने

काठमाडौँ । नेपालका प्रथम किराँती राजा यलम्बरको सम्झनामा किराँती नव–सांस्कृतिक केन्द्रले किराँती समुदायको चाड उभौली (साकेला)का अवसरमा सांस्कृति संस्थानमा यलम्बर सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । केन्द्रले अगामी जेठ २९ गते यलम्बर सांस्कृतिक विशेष कार्यक्रमका अवसरमा रु दुई लाख १० हजार राशीसहित वरिष्ठ कवि तथा गीतकार भूपाल राईलाई ‘यलम्बर सांस्कृतिक सम्मान’बाट सम्मानित गर्ने जनाएको छ ।

यस्तै रु ३० हजार राशीको किराँती नव सांस्कृतिक सम्मानबाट वरिष्ठ गायक कुवेर राईलाई तथा रु २० हजार राशीसहित किराँती नव–सांस्कृतिक प्रतिभा पुरस्कारबाट वरिष्ठ गायिका मेलिना राईलाई सम्मानित गरिने किराँती नव–सांस्कृतिक केन्द्रका संयोजक राकेश किराँतीले जानकारी दिए।

यलम्बरको नाममा रहेको उक्त पुरस्कारबाट नेपालको पुरानो ऐतिहासिकतालाई पुनःजागरण गर्न सघाउ पुग्ने तथा किराँत समुदायको चाड साकेलाको पहिचान जोगाउन मद्दत पुग्ने उनले बताए। केन्द्रका सदस्य गायक रुक्मा राईले यलम्बर सांस्कृतिक कार्यक्रममा किराँती भेषभूषा झल्किने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने बताए।

“यसले आफ्नो मौलिकतालाई जोगाइ राख्न मद्दत पुग्छ”, उनले भने। उक्त कार्यक्रममा शम्भु राई, सत्यकला राई, रुपकुमार राई, सरला राई, कला राई, मनिषा राईलगायतका कलाकारले सांस्कृतिक प्रस्तुती रहनेछ ।