लुम्बिनी

अब कसैले अवरोध गर्न सक्दैन समृद्धिलाई जोडेर जनताले चाहेजस्तो बजेट सरकारले ल्याएको छ: मन्त्री राई

बाँके । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले सरकारले ल्याएको बजेट समावेशी र जनमुखी भएको बताएका छन् । ‘सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटी’ले कोहलपुर चौराहामा निर्माण गरेको पर्यटकीय उद्यानको उद्घाटन गर्दै उनले विगतमा जस्तो बजेट कार्यान्वयनमा सरकारले छुट नदिने बताए।

“अब ढिलासुस्ती सरकारलाई मान्य हुँदैन”, उनले भने, “सरकारले जनताले चाहेजस्तो बजेट ल्याएको छ । बजेटले देशको समृद्धिलाई जोडेको छ, कार्यान्वयनमा सरकार दृढ छ ।” मन्त्री राईले मुलुकको विकासमा अब कसैले अवरोध गर्न नसक्ने बताए। ‘समृद्ध नेपाल सुखी नेपाली’का लागि निजी क्षेत्रको लगानी अपरिहार्य भएको उनको भनाइ थियो । सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीले कोहलपुर नगरपालिकासँग सहकार्य गरी कोहलपुर चौराहामा रु ५० लाखको लागतमा उद्यान निर्माण गरेको हो । पूर्व–पश्चिम राजमार्ग तथा नेपालगञ्ज–सुर्खेत राजमार्गको मुख्य केन्द्र रहेको सो उद्यानमा विभिन्न पूर्वाधार तयार गरिएका छन् ।

उद्यान १७ हजार ५०० वर्गफिटमा फैलिएको छ । उद्यानको बीचमा बाघको प्रतिमा राखिएको सिद्धार्थ विजनेश गु्रपका क्षेत्रीय प्रबन्धक केशव न्यौपानेले बताए । नियमित मर्मत सम्भारको अभावमा जीर्ण बनेको उक्त उद्यानलाई व्यवस्थित गर्नका लागि सिद्धार्थ विजनेश गु्रपले नगरपालिकासँगको सहकार्य गरी १५ वर्षसम्म सञ्चालनको अनुमति पाएको छ । साझेदारी गरेर अघि बढ्ने उद्देश्यले निर्माणसँगै सञ्चालनको जिम्मा सिद्धार्थ विजनेश ग्रुपलाई दिएको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले बताए ।