साहित्य

परराष्ट्रमन्त्री ज्ञवालीद्वारा लिखित ‘नेपाल–गाथा’ मा ‘मदन भण्डारी’देखी नेपालको तस्वीर

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ‘शीतविन्दु’द्वारा परिकल्पित तथा लिखित गीतिनाटक ‘नेपाल–गाथा’ सोमबार नाचघर जमलमा मञ्चन गरिएको छ । सांस्कृतिक संस्थानको आयोजनामा भएको गीतिनाटकमा रामापिथेकसदेखि आजसम्म नेपालको इतिहास कसरी बन्यो भन्ने विषय छ ।

नेपाली जनताको वास्तविक इतिहास झल्काउन नाटक तयार गरिएको रचनाकार शीतविन्दुले बताए । “इतिहास बिर्सने राष्ट्रले भविष्य निर्माण गर्न सक्दैन”, उनले भने । राजामहाराजाबाट मात्र राज्यको सिर्जना भएको होइन भन्दै उनले सिङ्गो जनताको योगदानबाट नेपाल बनेको बताए। “प्रामाणिक ढङ्गले नेपाली इतिहास ३१ सय वर्ष पहिले पुग्छ”, उनले थपे।

नाटकमा रामापिथेकसदेखि गोपाल वंश, महिषपाल वंश, किरातकाल, लिच्छविकाल, मल्लकाल, शाहकाल, राणाकाल, राणाकालको अन्त्यका लागि नदीमा हाम फालेर योगमायाले गरेको जलसमाधि, राणाकालको समयमा मृत्युदण्ड दिइएका शहीदको योगदान, प्रजातन्त्र प्राप्तिको समय, २०१५ सालको आमनिर्वाचनपछि विश्वेश्वरप्रसाद कोइराला प्रधानमन्त्री हुँदा जनतामा छाएको उत्साह, २०१७ सालमा राजा महेन्द्रले राज्यको सम्पूर्ण अधिकार आफ्नो हातमा लिएर प्रधानमन्त्री कोइरालालाई कारागार हालेपछिको समय, झापा आन्दोलन, जनमतसङ्ग्रह, २०४६ सालको जनआन्दोलन, मदन भण्डारीको उदय र अवसान तथा उनले छाडेर गएको विरासत, माओवादी द्वन्द्वकालको समय, २०६२/०६३ सालको जनान्दोलन, लोकतन्त्रको बहाली, भूकम्पले क्षतिग्रस्त बनाएको देशको स्थिति र भूकम्पपछि पीडितका लागि प्राप्त विदेशी सहयोग र संविधान निर्माणपछि समृद्धिको यात्रामा मुलुक लम्किरहेको कुरा २२ शृङ्खलाको नाटकमा अभिव्यक्त गरिएको थियो ।

गीतिनाटकमा सबै जातजाति, समुदाय, भूगोल, भाषा, समाज, संस्कृति तथा छायाङ्कनको राम्रो संयोजन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री, पूर्वप्रधानमन्त्रीलगायत एक हजारभन्दा बढीले नाटकको अवलोकन गरेका थिए । नाटकको सहलेखन प्राज्ञ डा. देवी नेपालले गरेकी हुन् । नाटकको निर्देशन वीरेन्द्र्र हमालले गरेका थिए भने सङ्गीत प्राज्ञ अशोक राईको थियो । नाटकको नृत्य संयोजन गोरन चौधरीले गरेका थिए भने सहनृत्य सवनम सिलवालले गरेका थिए । नाटक पुनः मञ्चन गरिने आयोजकले जनाएको छ ।