खेलकुद

खेल पर्यटन आर्थिक समृद्धिको महत्वपूर्ण आधार भएको छः मन्त्री विश्वकर्मा

पोखरा । युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले खेल पर्यटन आर्थिक समृद्धिको महत्वपूर्ण आधार भएको बताएका छन् । अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिद्वारा कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा आयोजित अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवको सोमबार समापन गर्दै उनले नेपाल खेल पर्यटनका दृष्टिले उत्तिकै सम्भावनायुक्त स्थल भएको बताए।

उच्च हिमाली क्षेत्रका साथै यहाँका विभिन्न स्थानमा विभिन्न खेलको सम्भावना रहेको चर्चा गर्दै उनले प्राकृतिक एवम् भौगोलिक स्थितिको उपयोग गर्नुपर्ने बताए । घान्द्रुकमा ‘हाई अल्टिच्युट ट्रेनिङ सेन्टर’ बनाउने सरकारको योजना रहेको उनले बताए । उनले त्यसका लागि अघिल्लो वर्ष रु १५ लाख विनियोजन गरिएकामा यस वर्ष रु ५० लाख विनियोजन गरिएको जानकारी दिए।

सो अवसरमा मन्त्री विश्वकर्माले दोस्रो अन्नपूर्ण म्याराथनका विजयीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे। म्याराथनमा नेपाली सेनाका खगेन्द्र भाट, हरिकुमार रिमाल र गोपाल तामाङ क्रमशः प्रथम, द्वितीय र तृतीय भए । उनीहरुले क्रमशः रु एक लाख पाँच हजार, रु ७५ हजार र रु ५५ हजार पुरस्कार प्राप्त गरे।

कार्यक्रममा पूर्व संविधानसभा सदस्य डा राजीवविक्रम शाह, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवर, अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवका संयोजक ललित गुरुङलगायतले अन्नपूर्ण क्षेत्रको समग्र पर्यटन प्रवद्र्धन र यसको पहिचानलाई जोगाउन महोत्सव तथा म्यारथन प्रतियोगिता आयोजना गरिएको बताए।