समाचार

सामन्तवादको अवशेष जातीय भेदभाव र छुवाछूत उन्मूलन हुन्छः प्रधानमन्त्री

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले देशलाई न्याय र समानतासहितको समृद्धिको दिशातर्फ अघि बढाइरहेको बताएका छन् । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका अवसरमा आज एक शुभकामना सन्देश दिँदै उनले वर्तमान सरकार सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न लागेको बताए ।

सरकार शताब्दीऔँसम्म विभेद र अन्यायको शिकार भएका दलित समुदायलाई शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा अगाडि बढाउन तल्लीन रहेको सन्देशमा उल्लेख छ । विगतमा पाखा पारिएकाहरुलाई राज्यको मूलप्रवाहमा समाहित गराइरहेको सन्देशमा उल्लेख छ ।

आजको एक्काइसौँ शताब्दीमा पनि सामन्तवादको अवशेषका रुपमा रहेको मानव–मानवबीच गरिने जातीय भेदभाव र छुवाछूतको दुव्र्यवहारप्रति कुनै सहिष्णुता नदर्शाइने उनको भनाइ छ । ‘समानता, सद्भाव र सबैको मानवअधिकारको पूर्ण रक्षाका लागि सरकार दृढ छ’, सन्देशमा भनिएको छ ।

प्रधानमन्त्री ओलीले सन्देशमा राज्यका हरेक अङ्ग र निकायमा समानुपातिक समावेशी सिद्धान्तअनुसार दलित समुदायको प्रतिनिधित्व गराइने संवैधानिक व्यवस्था रहेको स्मरण गरेका छन् । राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट दलित समुदायका कम्तीमा एक–एक जना र स्थानीय तहको वडास्तरमा दलित महिलाको अनिवार्य प्रतिनिधित्वलाई कानूनी रुपमा सुनिश्चित गरिएको बताइएको छ ।

नेपालले जातीय भेदभाव तथा छुवाछूतको अन्त्यका लागि अन्तर्राष्ट्रिय रुपमा पनि ठोस प्रतिबद्धता जनाएको सन्देशमा भनिएको छ । प्रधानमन्त्री ओलीले यस दिवसले जातीय विभेद र छुवाछूतको दुव्र्यवहारलाई रत्तिभर नसहन तथा हरेक नेपाली नागरिकलाई उत्प्रेरित गर्नेमा आफू विश्वस्त रहेको उल्लेख गरेका छन् ।