राजनीति

ओली सरकारले बहुमत ल्यायो तर एउटापनि उदाहरणिय काम गर्न सकेनः अध्यक्ष बिजुक्छे

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बहुमत ल्याएर सरकार निर्माण गरे पनि एउटापनि उदाहरणीय एवं समाजवादी काम गर्न नसकेको आरोप लगाएका छन् ।

नेमकिपाले आज यहाँ आयोजना गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति बारेको पत्रकार भेटघाट कार्यक्रममा उनले संविधानमा उल्लेख भएको प्रावधानअनुसार सरकारले समाजवादी काम गर्न नसकेको बताए । उनले वार्तामार्फत सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई वार्ताका माध्यमबाट राजनीतिको मूलधारमा ल्याउनुपर्ने बताए । उनले सिके राउतसँग वार्ता गर्ने सरकारले विगतकै माओवादीको बाँकी भाग विप्लवलाई प्रतिबन्ध लगाई लखेट्नु नहुने सुझाव दिए ।

उहाँले सरकारले प्रस्तुत गरेको बजेट समाजवादको विकासभन्दा पूँजीवादलाई बलियो बनाउने प्रकृतिको रहेको आरोप लगाउँदै अमेरिकाले कानूनी र गैरकानूनीरूपमा अन्य देशहरूमाथि हस्तक्षेप गरिरहेको भनाइ राखे । कार्यक्रममा नेपाल मजदूर किसान पार्टीका सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले चालू आव २०७५÷७६ र आव २०७६÷७७ को बजेट वक्तव्यका प्रतिबद्धताका कतिपय वाक्य नै उही भएकाले सरकारले ल्याएको बजेट प्रतिबद्धताको पुलिन्दा मात्र भएको आरोप लगाए ।