समाचार

राजाहरूको सत्तामोह र अहङ्कारका कारण गणतन्त्र अपरिहार्य भयो

पोखरा । राजनीतिज्ञ एवम् लेखक नरहरि आचार्यद्वारा लिखित ‘गणतन्त्रको यात्रा’ पुस्तकमाथि आज पोखरामा चर्चा गरिएको छ । नेपाली लेखक सङ्घ कास्कीले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

सो अवसरमा पुस्तकका लेखक एवम् राजनीतिज्ञ आचार्यले गणतन्त्र स्थापनाका क्रममा आपूmले भोगेका राजनीतिक, पारिवारिक, साहित्यिक एवम् विविध सन्दर्भलाई पुस्तकमा समेटिएको बताए । उनले सो पुस्तक बन्दी अवस्थाको समयको डायरीमात्र नभई एक दशक लामो समय चलेको गणतन्त्र स्थापनाको रस्साकस्सी र विचार मन्थनको दस्तावेज भएको बताए । राजाहरूको सत्तामोह र अहङ्कारका कारण गणतन्त्र अपरिहार्य बन्दै गएको र ७० वर्षसम्म तीन पुस्ताका राजाहरूले गरेको उपद्रोकै परिणामका रूपमा गणतन्त्रसम्म आइपुगेको बताए ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले विचारलाई कुनै पनि शक्तिले कहिल्यै बन्दी बनाउन नसकेको दृष्टान्तका रूपमा पुस्तक इतिहासको वैचारिक दस्तावेज बनेर उभिएको बताए । सो पुस्तकमा समावेश गरिएका पारिवारिक, प्रेमिल र नैतिकताका सन्दर्भहरु असल राजनीतिज्ञका लागि महत्वपूर्ण हुने उनको भनाइ थियो । उनले यी सन्दर्भले आपूm निष्ठाको राजनीतिमा लागिरहन विशेष ऊर्जा प्राप्त भएको बताए ।

पुस्तकमाथि टिप्पणी गर्दै किशोरदत्त बरालले जेलजीवनका भोगाइ, कठिनाई र जेलजीवनमा बन्दीबीच आत्मीयताका सन्दर्भ राजनीतिकर्मीका लागि शिक्षा भएको बताए । काङ्ग्रेसमा आन्दोलनताका रहेको आत्मीयता हराउँदा गणतन्त्र सङ्कटमा पर्दै गएको सन्दर्भ पुस्तकले उठाएको उनको भनाइ थियो । “पुस्तक समग्रमा सिद्धान्त केन्द्रित राजनीतिमा लाग्नका लागि उपयोगी छ” बरालले भने ।

अर्का टिप्पणीकार विन्दु पौडेलले पुस्तकले नेपालको राजनीतिको एउटा कालखण्डलाई तथ्यपरक प्रस्तुतिका साथ उठाएको बताए । उनले नारीको गणतान्त्रिक आन्दोलनमा विशेष योगदान रहेका कुराले महत्व पाउनु खुशीको कुरा भएको उल्लेख गरे । नारीको योगदानबाट नै गणतन्त्र स्थापनामा बल पुगेको उनले बताए । कार्यक्रममा साहित्यकार तीर्थ श्रेष्ठ र नेपाली लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष प्राडा कुसुमाकर न्यौपानेले गणतान्त्रिक नेपालको यात्रामा संवैधानिक राजतन्त्र मान्ने काङ्ग्रेसबाटै गणतन्त्रको मार्गलाई बुलन्द पार्दै निष्कर्षमा पु¥याउन खेलेको भूमिका अविस्मरणीय रहेको उल्लेख गरे ।