पर्यटन/संस्कृति

बागलुङसँग सहकार्य गर्न पोखरेली पर्यटन व्यवसायी इच्छुक

बागलुङ । पर्यटकीय शहर पोखरा, बागलुङदेखि ७२ किलोमिटर दूरीमा छ । नेपाल भित्रनेमध्ये आधा पर्यटक घुम्नलाई पोखरा आउँछन् । नेपालीले पनि घुम्नैपर्ने गन्तव्यका रुपमा पोखरालाई लिइएको छ ।

पोखरा आउने पर्यटक कोही अन्नपूर्ण चक्रिय पदमार्गमा निस्कन्छन् । केहीले मुस्ताङको यात्रा तय गर्छन् । पोखरा आसपासका गन्तव्यमा भुल्ने पनि उत्तिकै हुन्छन् । पोखरा पर्यटकले भरिभराउ हुँदा नजिकको बागलुङ भने बेखबर बन्छ ।

पोखराले पर्यटक भित्र्याउन थालेको ५० वर्ष पुग्दा बागलुङमा भने विदेशी पर्यटकको आगमन न्यून छ । न त बागलुङले पोखराबाट सिक्न नै सकेको छ । पोखरा आउनेमध्ये केहीमात्र पर्यटक बागलुङ भित्र्याउन सके पर्यटनमा टेवा पुग्ने देखिन्छ ।

तर, के गुनासो गरेर बस्दैमा पर्यटक आउँछन् त ? पक्कै आउँदैनन् । गन्तव्य पहिचान, पूर्वाधार विकास र प्रवद्र्धन नभएसम्म पर्यटन विकास असम्भव छ । पर्यटनमा प्रशस्त सम्भावना भए पनि बागलुङ पछाडी परेको छ । गन्तव्य छन्, पूर्वाधार छैन । लगानी गर्न राज्यका निकाय र व्यवसायी अनिच्छुक छन् । पर्यटन संस्कृति र सचेतनाको अभाव छ । पर्यटनको मुद्दा केवल भाषणमा सीमित छ । यस्तो अवस्थाबीच बागलुङ र पोखराका पर्यटन व्यवसायी आपसी सहकार्य अघि बढाउन प्रतिबद्ध देखिएका छन् ।

नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स ऐजन्टस् ९नाट्टा०, पोखरा पर्यटन परिषद्लगायतका संस्थामा आवद्ध व्यवसायीले पर्यटनमा बागलुङ–पोखराबीच सहकार्यको खाँचो औँल्याएका हुन् । पर्यटन प्रवद्र्धनकै सिलसिलामा उपल्लो मुस्ताङ पुगेर फर्किएका पोखराका पर्यटन व्यवसायीले बागलुङका केही पर्यटकीय गन्तव्यसमेत घुमेका थिए ।

नाट्टा र बागलुङ पर्यटन विकास समितिद्वारा यहाँ आयोजित ‘बागलुङमा पर्यटन विकासका सम्भावना र अवसर’ विषयक अन्तरसंवादमा नाट्टाका अध्यक्ष सन्तोष पोखरलले पर्यटनमा बागलुङलाई सघाउन पोखरा तयार रहेको बताए ।
“पर्यटन प्रवद्र्धनका लागि बागलुङसँग सहकार्य गर्न हामी तयार छौँ”, उनले भने,“तपाईंहरु योजना, प्याकेज लिएर आउनुस् ।” व्यवसायी र पर्यटनकर्मीको सीप र क्षमता विकासमासमेत नाट्टाले सघाउने उनको भनाइ थियो ।

पोखरा पर्यटन परिषद्का उपाध्यक्ष गोपी भट्टराईले पर्यटन विकासमा निजी र सार्वजनिक लगानी चाहिने उल्लेख गरे । “मुख्य रुपमा पूर्वाधार निर्माणमा जोड दिऔँ”, उनले भने, “पर्यटकलाई भुलाउने वातावरण बनाऔँ ।”

उनले बढ्दो सडक निर्माणले पर्यटकीय पदमार्ग सङ्कटमा परेको भन्दै वैकल्पिक मार्गको विकास गर्नुपर्ने धारणा राखे। पदमार्ग नासिँदै जाने र पर्यटकीय गन्तव्यस्थलमा पनि गतिलो वातावरण दिन नसके पर्यटन व्यवसाय धरापमा पर्ने उनको भनाइ थियो ।

बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारीले पर्यटनमा राज्यको लगानी चाहिने बताउनुभयो । “ठूला पूर्वाधारमा व्यवसायीले लगानी गर्न सक्दैनन्”, उहाँले भन्नुभयो, “गन्तव्यस्थलको पहिचान र प्रवद्र्धनमा सरकारले लगानी बढाउनुपर्छ ।”

साहसिक र धार्मिक पर्यटनमा बागलुङको राम्रो सम्भावना रहेको होटल व्यवसायी वसन्तकुमार श्रेष्ठले बताए। पर्यटकलाई लक्षित गरेर व्यवसायीले होटलको क्षमता र सुविधा बढाएको उनको भनाइ थियो । वार्षिक हजारौँ पर्यटक पोखरा, बेनीहुँदै मुस्ताङ जाने गरेपछि बाटैमापर्ने बागलुङ भित्रन सकेका छैनन् ।

पोखरामा रहेका पर्यटन व्यवसायीले पनि यत्तिकैमा पर्यटकलाई बागलुङ घुम्नको लागि सिफारिस गर्न सकेका छैनन् । बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले जिल्लाको पर्यटन गुरुयोजना र पर्यटकीयस्थलको वृत्तचित्रको लागि तयारी अघि बढाइएको बताए । “पर्यटनका विषयमा गहन हिसाबले छलफल अगाडि बढेको छ”, उनले भने, “गुरुयोजनामार्फत पर्यटन क्षेत्रको काम गर्नुपर्छ ।”

बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले नगरपालिकाबाट पर्यटन क्षेत्रमा नीतिगत रुपमै बजेट छुट्टाउने बताए । “पर्यटन प्रवद्र्धनमा स्थानीय तहले नै बढी अग्रसरता लिनुपर्छ”, उनले भने ।

नेपाल पर्यटन बोर्ड पोखराका निर्देशक मणिराज लामिछानेले गण्डकी प्रदेशको एकीकृत पर्यटन विकास आवश्यक रहेको बताए ।“घरवास ९होमस्टे० प्रवद्र्धनमा सघाएका छौँ”, उनले भने, “जिल्लाको पर्यटन प्रवद्र्धनमा हाम्रो सहयोग हुन्छ ।”

निर्देशक लामिछानेले पर्यटकलाई घमफिरको ‘प्याकेज’ बनाएर बेच्नुपर्ने उल्लेख गरे । बागलुङ मुख्य पर्यटकीय गन्तव्यस्थलका रुपमा ढोरपाटन र कालीका भगवती मन्दिर बढी प्रसिद्ध छ । सरकारले सूचीकृत गरेका एक सय गन्तव्यमा ढोरपाटन, कालिका भगवती मन्दिर, पञ्चकोट, भकुण्डे, गाजाको दहलगायत छन् ।