अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प तीन दिने राजकीय भ्रमणमा बेलायत

लन्डन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायतको तीन दिने राजकीय भ्रमणका सिलसिलामा लन्डन आइपुगेका छन् ।  लन्डन ओर्लानासाथ राष्ट्रपति ट्रम्पले लन्डनका मेयर सदिक खान विरुद्ध घृणामिश्रित आलोचना गर्दै ट्वीट समेत गरेका छन् । बिरोधका बीच राष्ट्रपति ट्रम्पलाई बेलायत सरकारले रातो कार्पेट बिछ्याएर स्वागत गरेको छ ।

राष्ट्रपति ट्रम्प बेलायतकी महारानी एलिजाबेथ द्वितीयले आयोजना गर्ने राजकीय रात्रिभोजमा सहभागी हुने छन् । राष्ट्रपति ट्रम्पले गरेको ट्वीटमा अमेरिकाको महत्वपूर्ण साझेदार मुलुक बेलायतको भ्रमण गर्दा आफूलाई लन्डनका मेयर सदिक खानले गरेको व्यवहार मूर्खतापूर्ण रहेको बताएका छन् ।

यी दुबै नेताबीच बेलाबखत एकअर्काका नीतिमाथि ट्वीटर मार्फत सार्वजनिक रुपमै आरोप प्रत्यारोप हुने गरेको छ । ट्रम्पले भनेका छन्, “खानले लन्डनका बारेमा चिन्ता लिए पुग्छ, मेरा बारेमा होइन ।” खानले आइतबार एक अखबारमा लेख लेख्दै अमेरिकी राष्ट्रपति ट्रम्पलाई सन् १९३० र १९४० को दशकका युरोपेली अधिनायकवादी नेतासँग तुलना गरेका थिए।  राष्ट्रपति ट्रम्पको भ्रमणका क्रममा सोमबार र मंगलबार लन्डनमा दुईवटा विशाल प्रदर्शनका तयार भएका छन् ।