आर्थिक

नागरिकको गुनासो र सुझाव सङ्कलन गर्न हेलो मेयर सेवा शुरु

गोरखा । पालुङटार नगरपालिकाले नागरिकको गुनासो र सुझाव सङ्कलन गर्न हेलो मेयर सेवा शुरु गरेको छ । नगरपालिकाको समग्र विकासमा सम्पूर्ण नगरवासी तथा अन्य क्षेत्रका व्यक्तिको राय, सुझाव र गुनासो सिधँै नगर प्रमुखसँग राख्न सक्ने गरी आइतबारदेखि हेलो मेयर सेवा शुरु गरेको सूचना प्रविधि इञ्जिनीयर अशोकबाबु श्रेष्ठले जानकारी दिए।

उक्त सेवामार्फत नगरवासीले नगरपालिकाभित्रका विकासको कार्यक्रम, सार्वजनिक संस्था, विद्यालय, स्वास्थ्य संस्थालगायत सम्पूर्ण कार्यक्रम तथा योजनाका बारेमा अब नगरप्रमुखबाटै जानकारी लिनसक्नेछन् । त्यस्तै नगरपालिकासँग सम्बन्धित गुनासो र जिज्ञासा भएमा पनि कार्यक्रममार्फत नागरिकले जानकारी लिनसक्ने श्रेष्ठले बताए ।

“विकास निर्माणका सबै काममा नगरप्रमुखको ध्यान नपुग्न पनि सक्छ । नगरवासीको आवश्यकता के छ भन्ने कुराको जानकारी लिन नगरवासीले अब कार्यालय नै धाउनु पर्दैन”, नगरप्रमुख दीपकबाबु कँडेलले भने । नगरपालिकाका कमी कमजोरीबारेमा समेत अब चाहेमा सिधँै नगरप्रमुखलाई सोध्न वा खबरदारी गर्न पाइनेछ ।

यो सेवामार्फत नगरपालिकाका लागि आवश्यक रचनात्मक सुझाव दिन सकिने व्यवस्था मिलाइएको नगरप्रमुख कँडेलको भनाइ थियो । गुनासो कर्ताले टोल फ्री नं १६६०६४४२००२ मार्फत गुनासो रेकर्ड गराउन सक्नेछन् । रेर्कड भएको गुनासो, सुझाव वा जिज्ञासाको नगरप्रमुखले बुझेर जानकारी गराउने व्यवस्था नगरपालिकाले गरेको छ ।

यसबाट नगरपालिकाभित्रका समस्या तत्कालै जानकारी लिन र दिनसक्ने तथा नागरिकले आफ्नो गुनासो, सुझाव र जानकारी सिधैँ नगरप्रमुखलाई नै गराउनसक्ने व्यवस्था भएको उनको भनाइ थियो । “नगरपालिकाभित्रका समस्यालाई तत्काल सम्बोधन गरी कार्यान्वयनमा जान यो सेवाले सहज हुने अपेक्षा गरेका छौ”, नगरप्रमुख कँडेलले भने । यसका लागि शुल्क तिर्नुपर्दैन ।