प्रदेश 1

अलपत्र बहुद्देश्यीय कर्वडहल नगरपालिकाले बनाउँदै

खोटाङ । बजेट अभावमा अलपत्र बनेको दिक्तेलको माटिकोरेस्थित बहुद्देश्यीय कवर्डहल पुनःनिर्माण थालिएको छ । बजेट अभावमा आठ वर्षदेखि अलपत्र बनेको उक्त कवर्डहल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको लगानीमा पुनःनिर्माण थालिएको हो ।

विसं २०६८ मा उक्त हल निर्माण थालिएकामा रकम अभाव भएपछि अलपत्र बनेको थियो तर उक्त नगरपालिकाले हाल रु ७५ लाख बजेट उपलब्ध गराएकाले काम अघि बढेको हो । एकासी फिट लम्बाइ, ५७ चौडाइ फिट र ३५ फिट उचाइको उक्त हल रु एक करोड ४४ लाखको लागतमा निर्माण हुने अनुमान गरिएको छ ।

जिल्लामा खेल क्षेत्रको विकास गर्न एउटा कवर्डहल अति आवश्यक भएकाले अलपत्र अवस्थामा रहेको निर्माणाधीन कवर्डहल पुनःनिर्माणमा सहयोग गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताए। “कवर्डहल अभावमा अहिलेसम्म जिल्लामा एउटा पनि आन्तरिक प्रतियोगिता गर्न सकिएको छैन”, उनले भने, “ फुटबल र क्रिकेटबाहेक सबै किसिमको खेल खेल्न मिल्नेगरी कवर्डहल निर्माण शुरु गरिएको हो ।”

निर्माणाधीन कवर्डहलमा भलिबल, बास्केटबल, ब्याटमिन्टन, टेबलटेनिस, कपर्दी, डण्डीबियो, सितोरियो कराते, तेक्वान्दोलगायत प्रतियोगिता गर्न सकिने जनाइएको छ । खेलकूदका कार्यक्रमसँगै जिल्लामा विभिन्न सङ्घसंस्थाले आयोजना गर्ने आमसभा, गोष्ठीलगायत बैठकसमेत गर्न मिल्नेगरी एक हजार बढी मानिस अट्ने क्षमताको कवर्डहल निर्माण थालिएकोे हो ।

गत चैतदेखि पुनःनिर्माण शुरु गरिएको कवर्डहलको ७५ प्रतिशत काम पूरा भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष कुमार आचार्यले बताए । “अहिले गारोको काम सकेर छाना हाल्नका लागि स्टिल ट्रष्ट जडान भइरहेको छ”, उनले भने, “आगामी असार मसान्तभित्र सबै काम सम्पन्न गर्ने योजना बनाएका छौँ ।”

कवर्डहलभित्र फोल्डिङ मञ्च, दर्शकका लागि प्याराफिट, बास्केटबल, भलिबल र ब्याडमिन्टनको छुट्टाछुट्टै कोर्ट रहने निर्माण उपभोक्ता समितिले जनाएको छ । खेल सञ्चालन भएको समयमा कम्तीमा पनि ४०० दर्शक अट्न सक्ने क्षमताको कवर्डहलको बाहिरपट्टी पुरुष तथा महिला शौचालय, बाथरुम, ड्रेसिङरुमलगायत संरचना निर्माण गरिने जनाइएको छ । मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल बजारमा निर्माणाधीन बहुद्देश्यीय कवर्डहल छिमेकी जिल्ला भोजपुर, उदयपुर र सोलुखुम्बुका खेलाडीलाई समेत उपयोगी हुने अनुमान गरिएको छ ।

तत्कालीन प्रहरी नायब उपरीक्षक टेकबहादुर तामाङको पहलमा जनश्रमदान र चन्दा सङ्कलनबाट निर्माण शुरु गरिएको कवर्डहलका लागि तत्कालीन जिल्ला विकास समितिले रु १० लाख उपलब्ध गराएको थियो । जिल्ला खेलकूद विकास समितिको जग्गामा निर्माण गरिएको उक्त कवर्डहलका लागि करीब रू १२ लाख चन्दा सङ्कलन भएको निर्माण उपभोक्ता समितिले जनाएको छ । पुनःनिर्माण भइरहेको कवर्डहलमा रु २२ लाख र रु २३ लाखभन्दा बढीको जनश्रमदान गरी करीब रु ४५ लाख बढीको काम यसअघि नै सम्पन्न भएको निर्माण उपभोक्ता समितिले जनाएको छ । कवर्डहल निर्माणका लागि नेपाली सेना, जनपद तथा सशस्त्र प्रहरी, खेलाडी तथा खेलप्रेमीले श्रमदान गरेका थिए ।

अहिलेसम्म जिल्लामा उपयुक्त खेल मैदानसमेत नभएको अवस्थामा दिक्तेलमा सुविधा सम्पन्न बहुद्देश्यीय कवर्डहल निर्माणले गति लिएकाले खेलाडी तथा खेलप्रेमी उत्साहित भएका छन् । पछिल्लो समय फुटबल खेलका लागि भने जिल्लाका विभिन्न ठाउँमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको खेलमैदान निर्माण भइरहेको छ ।