स्वास्थ्य

त्रिपुरेश्वर आँखा अस्पतालमा बिरामी बढे

काठमाडौँ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा आँखाका बिरामी बढ्दै गएका छन् । विस २०३० चैत २६ मा स्थापना भएको अस्पतालमा पछिल्लो समय बढ्दै गएको धुलोधुँवा, वायुप्रदूषण र बढ्दो सामाजिक सञ्जालकोे प्रयोगसँगै आँखाका बिरामी बढेका हुन् ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेले नयाँ प्रविधिको प्रयोगसँगै आँखाका बिरामी बढेको बताए । “पहिला दैनिक ३०० व्यक्तिले बहिरङ्ग (ओपिडी) सेवा र दैनिक पाँच जनाले शल्यक्रिया सेवा लिने गरेकोमा अहिले दैनिक ५०० ले ओपिडी र ३० भन्दा बढीले शल्यक्रिया सेवा लिएका छन्”,–उनले भने ।

“क्यानडा अप्रेसन आइसाइड युनिभर्सल र नेपाल आँखा अस्पतालको साझेदारीमा भौतिक व्यवस्थापन पक्षको सुधारसँगै सर्जरी गर्नको लागि १५ देखि २० मिनेट लाग्नाले विरामीको सङ्ख्या पहिलेको तुलनामा बढेको हो”, घलेले भने । अस्पतालको सेवा विस्तारको लागि क्यानडा अप्रेसन आइसाइड युनिभर्सलले रु एक करोड बराबरको आर्थिक सहयोग गरेको छ ।

विगतमा एउटा शल्यक्रिया गर्न चार घण्टासम्म लाग्ने र दुई तीन दिनसम्म आराम गरेर बस्नुपर्ने बाध्यता भए पनि नयाँ प्रविधिको प्रयोगसँगै अहिले उक्त प्रक्रिया हटेको छ । यस्तै अस्पतालमा कार्यरत कर्मचारीलाई क्यानडा अप्रेसन आइसाइड युनिभर्सलले तालीम समेत प्रदान गर्दै आएको छ । उक्त अस्पतालमा हाल १०० कर्मचारी तथा चिकित्सकले सेवा प्रदान गर्दै आएका छन् ।

अस्पतालका अधिकृत केदार कार्की नेपाल आँखा अस्पतालले आगामी दिनमा आफ्नो सेवा विस्तार गर्न लागेको बताए । “त्रिपुरेश्वरबाट सेवा दिएको अस्पतालले बाराको सिमराबाट सेवा दिनका लागि अस्पतालको नाममा जग्गासमेत प्राप्त गरिसकेको छ,”–उनले भने ।

सिमरामा अस्पताल निर्माणका लागि सिमरा उपमहानगरपालिका–४ निवासी काशिम मियाँले रु दुई करोड मूल्य बराबरको पाँच कठ्ठा जग्गा सहयोग गरेका छन् । कम समयमा गुणस्तरीय सेवा प्रदान गर्न अस्पताल लागिरहेको कार्कीको भनाइ थियो ।

अस्पतालले आर्थिक वर्ष २०७४÷७५ मा एक लाख २८ हजार ७१६ बिरामीलाई ओपिडी सेवा प्रदान गरेको छ भने ६ हजार बिरामीको शल्यक्रिया गरेको छ । चालू आर्थिक वर्षमा भने एक लाख १२ हजार ५२० बिरामीलाई ओपिडी सेवा र पाँच हजार बिरामीको सर्जरी गरेको अस्पतालका अधिकृत कार्की बताए।

अस्पतालले हाल वार्षिक विभिन्न जिल्लाका १५ देखि २० स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । तनहुँ, लमजुङ, गोरखा, जुम्ला, ओखलढुङ्गा, धादिङ, रामेछाप, दोलखालगायतका पहाडी जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको अस्पतालले जनाएको छ ।

नेपाल आँखा अस्पतालले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा दश हजार बिरामीलाई ओपिडी सेवा र एक हजार बिरामीलाई शल्यक्रिया सेवा प्रदान गरेको छ । यस्तै विभिन्न विद्यालयका विद्यार्थीलाई समेत सेवा प्रदान गर्दै आएको छ । अस्पतालले ८० रुपैँयामा बिरामीलाई ओपिडी सेवा प्रदान गर्दै आएको छ । आँखाका बिरामीलाई दिने सेवालाई झन्झटमुक्त बनाउन टोकन प्रक्रिया शुरु गरिएको अस्पतालले जनाएको छ ।