समाचार

भारी वर्षाका कारण आएको बाढीले चार वटा खानेपानीका मुहानमा क्षति

रुकुमपश्चिम । शनिबार आएको असिना पानीका कारण चार वटा खानेपानी आयोजनामा क्षति पुग्दा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका– १ मा खानेपानीको अभाव भएको छ । भारी वर्षाका कारण आएको बाढीले चार वटा खानेपानीका मुहानमा क्षति पुग्दा वडाका २५८ घरपरिवार र ६०० विद्यार्थी खानेपानीको समस्यामा परेका छन् ।

बाढीले रु ५० लाखमा निर्माण भएको सामाढुङ्गा खानेपानी आयोजना, रु ५० लाखमै निर्माण भएको दिव्यचच्छु माविको भट्टछरे खानेपानी आयोजना, ३० लाखमा निर्माण भएको बल्ले खानेपानी आयोजना र रु ११ लाखमा निर्माण भएको खर्क खानेपानी आयोजनामा क्षति गरेको वडा सदस्य लक्ष्मण ओलीले जानकारी दिए ।

खानेपानीका मुहानमा रहेका ट्याङ्की र पाइप बाढीले बगाएको उनले बताए । खानेपानीको मुहानमै बाढी पसेपछि शनिबारदेखि गाउँमा खानेपानीको आपूर्ति बन्द भएको उनको भनाइ थियो । त्रिवेणी– १ का तीन गाउँ र एउटा विद्यालयमा खानेपानीको हाहाकार भएको छ । खानेपानीको आपूर्ति बन्द हुँदा वडा नं १ को बल्लेका ८८, दहभागे–लग्रेका ७०, माथिगाउँका १०० घरधुरी र दिव्य चच्छु माविका ६०० विद्यार्थी खानेपानीको अभावमा परेका छन् ।

अहिलेसम्म जम्मा गरेर राखेको पानीले जसोतसो काम चलाए पनि अब जम्मा गरेको पानी पनि सकिएपछि स्थानीय खानेपानीको जोहो कसरी गर्ने भन्ने चिन्तामा परेका छन् । गाउँमा खानेपानीका स–साना मुहान भए पनि ती पर्याप्त नभएको स्थानीयको भनाइ छ ।

बल्ले खोलामा आएको बाढीले स्थानीयका दुई वटा घट्टसमेत बगाएको छ । लग्रेका हरिबहादुर केसी र बल्लेका मेवालाल ओलीको घट्ट बाढीले बगाएको हो । त्यस्तै बाढीका कारण वडाध्यक्ष मोहनकिशोर ओलीको घरसमेत जोखिममा परेको छ ।