पत्रपत्रिका

नेपाली युवा विष्फोटक पदार्थसहित भारतको पानीटेंकीमा पक्राउ

काठमाडौँ । भारतबाट नेपालतर्फ आउँदै गरेका एक नेपाली युवा विष्फोटक पदार्थसहित भारतको पानीटेंकीमा पक्राउ परेका छन् । पानीटेंकीबाट काँकडभिट्टा नाकातर्फ प्रवेश गर्न लागेका भोजपुर–९ खैराङका ३३ वर्षीय श्रीप्रसाद राईलाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।

पानीटेंकी नाकामा खटिएका भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोलीले राईलाई विष्फोटक पदार्थसहित पक्राउ गरेको हो । उनको साथबाट विष्फोटक पदार्थ नियोजेल (९०० को ४) प्याकेट, १०० थान विद्युतीय डेटोनेटर, नेपाली नागरिकताको परिचयपत्र, मोबाइल फोनलगायतका सामग्री बरामद गरिएको एसएसबीले जनाएको छ ।

पक्राउ परेका राई मेघालयको सिलङबाट नेपाल फर्कंदै थिए । सिलोङमा अध्ययनरत् छोरीलाई भेट्न गएर फर्किएको उनले भारतीय प्रहरीलाई बताउँदै आएका छन् । नाकामा उनले बोकेको कालो झोला चेकजाँच गर्दा विष्फोटक पदार्थ फेला परेको एसएसबीका कमाण्डर राजीव राणाले बताए । पक्राउ परेका राईलाई आवश्यक कारबाहीका लागि खोडीबारी पुलिस थाना बुझाइएको उनले बताए । राई पक्राउ परेकोबारेमा एसएसबीले आफूलाई जानकारी गराइसकेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी महेश थापाले बताए । नयाँ पत्रिका