समाचार

हावाहुरी, मेघ गर्जनसहित वर्षा हुन सक्छः मौसमविद् कँडेल

काठमाण्डौ । पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रही हावाहुरी, मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानसमान महाशाखाले जनाएको छ ।

बङ्गालको खाडीबाट आएको दक्षिण पूर्वी हावाको प्रभाव र प्री मनसुन सक्रिय हुँदा बदलीसँगै वर्षा भइरहेको महाशाखाका मौसमविद् शान्ति कँडेलले बताए । उहाँका अनुसार मनसुन शुरु हुन केही दिन मात्र बाँकी छ । अहिलेको यो अवस्था पूर्वमनसुन शुरु हुनुभन्दा केही दिनअगाडिको गतिविधि रहेको मौसमविद् कँडेलले जानकारी दिए ।

देशभर पूर्वमनसुन शुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो क्रम आगामी मङ्गलबारसम्म कायम रहन्छ । एक–दुई दिन मौसम सफा भएपछि फेरि पूर्वमनसुन सक्रिय हुने बताइएको छ । राति देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही पूर्वी भू–भागका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार देशभर आंशिक बदली रही देशको पूर्वी भू–भागको केही स्थानमा र मध्यपूर्वी भू–भागका एक दुई स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको बताइएको छ । सोमबार देशभर आंशिक बदली भई पश्चिमी पहाडी भू–भागका केही स्थानमा र मध्यपूर्वी भू–भागका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आवाज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव ४ डिग्री र अधिकमत तापक्रम ३० दशमलव २ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३९ दशमलव ७ डिग्री सेल्सियस रहेको छ ।