राजनीति

ओली सरकारले ल्याएको बजेट नेकपाका कार्यकर्ता पालनपोषण शैलीमाः सभापति देउवा

लुम्बिनी । पूर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस, न्यायालय र मानवअधिकारमाथिको हस्तक्षेप नेपाली काङ्ग्रेसका लागि अमान्य हुने बताएका छन् ।

नेपाल प्रेस युनियन रुपन्देही शाखाले आज भैरहवा विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले भने, “यो सरकारले सबै ठाउँमा हस्तक्षेप गरिरहेको छ । स्वतन्त्र प्रेस, स्वतन्त्र न्यायपालिका र मानवअधिकार आयोगमाथि पनि हस्तक्षेप गरिरहेको छ । यो कदापि मान्य हुंदैन ।”

सरकारका कामप्रति विरोध गर्दै उनले वाइडबडी, बालुवाटारलगायतका विषयमा अख्तियारले छानबिन गर्नुपर्ने बताए । उनले सरकारले ल्याएको बजेट कायकर्ता पालनपोषण गर्ने शैली भएको टिप्पणीसमेत गरे । सभापति देउवाको दाबी छ, ’अर्थमन्त्री डा. खतिवडाले ल्याएको बजेट नेकपाका कार्यकर्ता मोटाउने खाल्कोमात्र छ ।‘