प्रदेश 1

१५ वर्षीया किशोरी हत्या गरि फरार रहेका युवक पक्राउ

पाँचथर । हिलिहाङ गाउँपालिका–४ पञ्चमीकी १५ वर्षीया किशोरी शीतल योङहाङको हत्यापछि फरार रहेका पद्म तामाङ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरका अनुसार तामाङलाई झापाको दमकबाट आज पक्राउ गरिएको हो ।

फाल्गुनन्द गाउँपालिका निवासी तामाङले छिमेकी साथी भगिरथ बाँस्तोलाको सहयोगमा गत वैशाख २९ गते साँझ शीतललाई गाउँमा रहेको खाली घरमा बोलाएर घाँटी रेटी हत्या गरेका थिए ।

तामाङलाई प्रहरीले भोलिपल्टै पक्राउ गरे पनि उनी भाग्न सफल भएका थिए । उक्त कार्यालयका साथै जिल्लाका विभिन्न प्रहरी एकाइको सहकार्यमा तामाङलाई पुनःपक्राउ गरिएका प्रनाउ कुँवरले जानकारी दिए ।

उनको पक्राउका लागि विद्यार्थी र नागरिक समाजले दबाब दिँदै आएका थिए । पद्म र शीतलबीच प्रेम सम्बन्ध रहेको र सम्बन्धमा खटपट आएपछि उनकोे हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो । तामाङ पक्राउ परेसँगै हत्याको मूलकारण पत्ता लाग्ने प्रहरीले जनाएको छ ।