स्वास्थ्य

दोस्रोपटक आँखा देख्न पाएकामा खुशी

जाजरकोट । छेडागाड नगरपालिका–३ का रत्न सिंह अहिले ६१ वर्षपछि पुनः आँखा देख्न सक्ने हुनुभएको छ । एकाउन्न वर्षको उमेरदेखि आँखा देख्न छाड्नुभएका उहाँ अहिले ११ वर्षपछि दोस्रो पटक आँखा शुल्दा खुशी हुनुभएको हो ।नाति छ महीनाको हुँदा आँखा देख्न छाडेपछि उसको आवाज मात्र सुन्न पाएको थिएँ तर अहिले १२ वर्षको उ विद्यालय गएर फर्कने गरेको देख्न पाउँदा खुशीको सीमा नै नरहेको सिंहले बताउनुभयो ।

आँखा देख्न सकेको खुशीयालीमा घर पुगेर खसी काटेर खाएको उहाँको भनाइ थियो । सोही ठाउँकै सिर्जना विकले पनि करीब पाँच वर्षपछि आँखा देख्न पाउँदा खुशी भएको बताउनुभयो । आँखा नदेख्दा सबैले हेप्ने र दुःख दिने गर्दथे अब आँखा देख्ने भएपछि घरको कामदेखि अरुलाई सघाउनेसम्मका काम गर्दै आएको विकले बताउनुभयो ।

उनीहरु जस्तै ६६३ जना पुनः संसार देख्न पाइएकामा खुशी भएका छन् । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय र छेडागाड नगरपालिकाको संयुक्त आयोजनामा भएको आँखा शिविरमा धेरैले पुनः संसार देख्न पाएका हुन् ।दुर्गम गाउँमा स्वास्थ्यकर्मी उपस्थिति नहुनाले उपचार गर्न नपाएका र अर्थाभावमा कारण रोग पालेर बस्न बाध्य भएका सर्वसाधारणले गाउँमै उपचार गर्न पाउँदा खुशी भएको उक्त नगरपालिका–४ का बलबहादुर सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “यस्ता खालका शिविर पहिले भएका थिएनन्, गाउँमा त झन् को पो आउँथ्यो र रु अहिले हाम्रा लालबहादुर महतरा प्रदेश सरकारमा पुग्नुभएकाले हामीलाई घर नजिकै उपचार गर्न सहज भएको छ ।” अझै पनि दुर्गम गाउँमा आँखाका बिरामी भए पनि उपचार नपाएर अर्काको सहारा लिन बाध्य भएको उहाँको भनाइ थियो ।

उक्त मन्त्रालयको सहयोगमा जिल्लाका स्थानीय तहले स्वास्थ्य शिविर गर्दै आएका छन् । अर्थाभाव भएका, अशक्त, र अपाङ्गता भएका व्यक्तिले बढी शिविरबाट सेवा लिएको उक्त नगरपालिकाको स्वास्थ्य शाखाका भीमराज सिंहले जानकारी दिनुभयो ।