समाचार

मुलुकभर मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । मुलुकभरको मौसममा आंशिकदेखि सामान्य बदली रही अझै केही पहाडी र पूर्वी तराईमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना देखिएको छ । बङ्गालको खाडीबाट नेपालको पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको जलवाष्पयुक्त हावाका कारण केही दिनदेखि साँझपख वर्षा हुँदै आएको र त्यो केही दिन अझै कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

“तीन÷चार दिनसम्म अझै प्रायः अपराह्नपछि मेघगर्जनसहित वर्षा हुने देखिन्छ । दिउँसो घाम लागे पनि साँझपख मौसममा बदली भई पश्चिम तराईबाहेकका स्थानमा वर्षा हुने सम्भावना छ”, महाशाखाका मौसमविद् मीनकुमार अर्यालले भने।

जलवाष्पयुक्त हावाको वायुमण्डलको माथिल्लो सतहसम्म प्रभाव कायम रह्यो भने मनसुन हुन्छ तर त्यो प्रणाली हाल शुरु भइसकेको छैन । अहिले वायुमण्डलको तल्लो सतह (एक÷डेढ किलोमिटरसम्म) मात्र उक्त वायुको प्रभाव रहेको मौसमविद् अर्यालले बताए ।

सामान्यतया नेपालमा मनसुन शुरु हुने समय जुन १० हो । तर यस वर्ष झण्डै एक साता ढिला हुने देखिएको महाशाखाको अनुमान छ । नेपालमा मनसुन प्रवेश हुने भारतको केरलामा अहिलेसम्म मनसुन शुरु भएको देखिँदैन ।