विचित्र संसार

दुर्घटना भए लगतै पत्नीलाई भिडियो कल, आफ्नो हालत प्रत्यक्ष देखाउदैँ मृत्यु !

काठमाडौं । एक व्यक्ति सडकमा दुर्घटनामा पर्छन् । उनले भिडियो कल गरेर श्रीमतीलाई आफ्नो हालत प्रत्यक्ष देखाउँछन् । त्यसपछि अन्तिम सास फेर्छन् । कसैले रचेको कहानी जस्तो लाग्ने यो घटना भारत उत्तर प्रदेशको हो ।

बेगुसरायको राष्ट्रिय राजमार्ग २८ मा मोटरसाइकल चलाइरहेको बेला राजाराम पण्डित नामका युवक ट्रकमा ठोक्किन्छन् । सडकमा लडेपछि उनलाई ट्रकले किच्छ । उनको एउटा खुट्टा नै चुडिन्छ । त्यसपछि उनले पत्नीलाई भिडियो कल गरेर आफ्नो हालत देखाउँछन् र घटनाबारे जानकारी दिन्छन् ।

त्यसपछि उनी बेहोस हुन्छन् । लगत्तै सुरक्षाकर्मीले उद्धार गरेर उनलाई अस्पताल पुर्‍याउँछन् । तर, डाक्टरहरुले बचाउन सक्दैनन् । राजारामको तीन वर्ष अगाडि मात्र बिहे भएको थियो । उनको सात महिनाको छोरी पनि छिन् । उनी श्राद्धमा सहभागी हुन ससुराल जाने क्रममा दुर्घटनामा परेका थिए ।

प्रत्यक्षदर्शीका अनुसार राजारामाले इयर फोन लगाएर मोटरसाइकल चलाएका थिए । इयर फोन लगाएको बेला गाडीको आवाज नसुनेकाले दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाको जोखिम बढ्ने भएकाले कतिपय देशमा हेडफोन वा इयरफोन लगाएर सवारी साधन चलाउन बर्जित छ । दैनिक भास्कर