समाचार

संस्कृत ज्ञानको भण्डार हो, अमेरिकामा समेत गीताको संरक्षण गरिएको छ, लोप हुन दिनुहुन्न

ललितपुर । जयतु संस्कृतम्का अध्यक्ष डा बद्री पोखरेलले संस्कृतले मातृ देवो भवः, पितृ देवो भवः, आचार्य देवो भवःका साथै गुरु देवो भवःको शब्द उच्चारण गरी यसले हरेक मानिसमा शुद्धता र स्पष्टताको ज्ञान पैदा गराउने बताएका छन् ।

शनिबार जीयर शैक्षिक संस्था नेपाल र नेपाल विकास तरङ्गिणीले संयुक्त रूपमा आयोजना गरेको ‘आधुनिक विषयका साथ संस्कृत शिक्षा अनिवार्य किन ?’ विषयक अन्तरक्रिया कार्यक्रममा डा पोखरेलले संस्कृतले विश्वका हरेक मानिसमा अथाह ज्ञान प्रदान गर्ने तर्क गरे ।

पोखरेलले भने, “संस्कृत केवल कर्मकाण्डी गर्ने विषय मात्र होइन, यो तालु, नाक र घाँटीबाट उच्चारण हुने विज्ञानसँग उत्तिकै नजिक रहेको छ । संस्कृतले दर्शन/चिन्तन, साहित्य, निर्देशन, ग्रन्थ, विज्ञानका साथै कर्मकाण्डजस्ता पाँच विषयमा उत्तिकै महत्व दिने गरेको छ ।”

पाठ्यक्रम विकास केन्द्रका निर्देशक टुकराज अधिकारीले विश्वको सबै भन्दा ठूलो पुस्तकालय भएको देश अमेरिकामा भागवत गीताको संरक्षण गरी यसको महत्व झल्काइँदै आएको बताए ।

पाठ्यक्रम विकास केन्द्रले हप्तामा हरेक विद्यालयलाई पाँच घण्टा संस्कृत पढाउने अनुमति दिएको कार्यक्रममा बताइएको छ ।

जीयर शैक्षिक संस्था नेपालका अध्यक्ष कुमार अधिकारीले संस्कृतले समाजमा ज्ञान, विज्ञान, नैतिकता, ग्रन्थ, आत्मा र परमात्मको सम्बन्ध स्थापना गर्न सहयोग गर्ने जानकारी दिए । “संस्कृत लोप हुने अवस्थामा पुगेको छ । यसलाई कुनै पनि हालतमा लोप हुन दिनु हुँदैन”, अधिकारीले भने, “यसले मानवीय जीवनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ऊर्जा भर्ने काम गरिरहेको छ ।”

नेपाल–भारत पुस्तकालयका प्रमुख महेश शर्माले पुस्तकालयमा १०१ विद्धान दैनिक आएर संस्कृत श्लोक अध्ययन र वाचन गर्ने बताए । “संस्कृतका करीब तीन हजार शब्द रसियन भाषासँग मिल्छ”, शर्माले भने, “एटम आफैँ आत्मासँग जोडिएको शब्द हो । जुन बाह्य मुलुकले सदीयौँदेखि बमको नाममा प्रयोग गर्दै आएका छन् ।

जीयर नेपाल एक सामाजिक र आध्यात्मिक संस्था हो । यसले विद्यालयस्तरीय पाठ्यक्रम प्रकाशन गरी उपत्यकाभित्रका केही विद्यालयमा अध्यापन गराउन थालेको छ । यस संस्थाले प्रकाशन गरेको संस्कृत विषयको पुस्तक हाल नेपालको २५ विद्यालयमा अध्ययन र अध्यापन हुन थालेको बताइएको छ ।