पर्यटन/संस्कृति

५००० वर्षअघि ऋषिले धर्मको सिर्जना गर्दा कसैलाई दुःख नहोस् सबैको कल्याण होस् भन्ने भावना थियो

काठमाडौँ । हिन्दूधर्मका ज्ञाता तथा विद्घानले सबै धर्मको सार मानवमानवबीचको समानता तथा भ्रातृत्व भएको बताएका छन् । नेपाल गृहस्थ धर्म सेवा सदनले यहाँ आज आयोजना गरेको बृहत् धर्मसभामा उनीहरुले संसारमा हिन्दूधर्मको उद्गम अगाडि मानिसमा कुनै जातजातिका रुपमा भेदभाव नरहेको र बेद तथा धर्म शास्त्रले पनि कुनै व्यक्तिलाई नीचका रुपमा व्याख्या नगरिएको बताउँदै सनातन हिन्दूसंस्कारसँगै पछि मात्र जातजाति तथा वर्णाश्रमको विकास भएको बताए ।

५००० वर्षअघि ऋषिले धर्मको सिर्जना गरेको र त्यसबेला उनीहरुको पवित्र भावना दुनियाँमा कसैलाई दुःख नहोस् तथा सबै मानवजातिको कल्याण होस् भन्ने भावना रहेको जानकारी दिइयो ।

सो अवसरमा विश्व हिन्दू महासङ्घका अध्यक्ष रामचन्द्र अधिकारीले मानव जीवनमा मानवता, शान्ति, सहकार्य तथा सद्भावको जरुरी रहेको बताउँदै यो विनामानव समाज सफल नहुने बताए ।

नेपाल गृहष्थ धर्म सेवा सदनका अध्यक्ष आचार्य गुरु तुलसीराम पोखरेलले वैदिक पुराणमा गृहस्थाश्रमको स्पष्ट व्याख्या गरिएको बताउँदै समाजमा बस्ने हरेक नागरिकले गृहस्थमा बसेर आफ्नो धर्म र रीतिरिवाजअनुसार सबैलाई समान व्यवहार तथा आचरण गर्न धर्मले मार्ग निर्देशित गर्ने बताए ।

विश्व हिन्दू महासङ्घका पूर्वअध्यक्ष दामोदर गौतमले हिन्दू धर्ममा ब्रह्मचर्या आश्रम, सन्याश्रम, गृहष्थ आश्रम रहेको बताउँदै तत्व ज्ञानलाई बुझ्ने तथा गृहस्थाश्रममा गृहस्थले धेरै कार्य गर्नुपर्छ र यो व्यवहारमा उतार्न सक्यौँ भने समाज तथा गृहस्थ जीवनमा शान्ति मिल्ने बताए ।

राप्रपाका नेता राजाराम श्रेष्ठ, गोंगबु आवास सुधार समिति दिदीबहिनी समूहका अध्यक्ष सुधा भट्ट, पवित्र नगर समाजका अध्यक्ष शेषमणि कँडेललगायतका वक्ताले हिन्दूधर्म , समाज परिवर्तनमा धर्मको अनुकरण, धार्मिक संस्कारको विविध पक्षमा चर्चा गरेका थिए । धार्मिक विकृति, विसङ्गति तथा विभेद हटाई समाजलाई सदाचारी बनाउने उद्देश्यले आयोजना गरेको सो कार्यक्रममा भजनकृतन पनि गरिएको थियो ।