अन्तर्राष्ट्रिय

भारतीय गृह मन्त्रीको जिम्मेबारीमा भाजपा अध्यक्ष अमित शाह

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दोस्रो कार्यकालका लागि अमित शाहलाई शनिबार गृह मन्त्रीको जिम्मेबारी दिएका छन् ।

सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का अध्यक्षसमेत रहेका शाहलाई मोदीले आफ्नो निकट विश्वास पात्रका रुपमा गृह मन्त्रालयको जिम्मेबारी दिएको अधिकारीले बताएका छन् ।

गृहमन्त्रीका रुपमा शाहलाई विषेश गरेर आतङ्कवाद, माओवादी द्वन्द्व र काश्मिर समस्या मुख्य चुनौतीका रुपमा रहेका छन् ।

उनले अर्का प्रभावशाली नेता राजनाथ सिंहको ठाउँमा अहिले जिम्मेबारी पाएका हुन् । प्रधानमन्त्रीका रुपमा मोदीको पहिलो कार्यकालमा सिंह गृह मन्त्री रहेका थिए ।

नयाँ गृह मन्त्रीको जिम्मेबारी पाएका शाह भारतमा अनुभवी र परिपक्व नेताका रुपमा चिनिन्छन् ।

यसअघि सन् २०१४ मा पार्टीले भारी मत ल्याउदा उनी उत्तर प्रदेशको पार्टी प्रमुख थिए । त्यति बेला कुल ८० सिटमा भाजपाको गठबन्धनले ७३ सिटमा जित हासिल गरेको थियो ।

अहिले भने उनी केन्द्रीय निर्वाचन प्रचारप्रसार अभियानको मुख्य नेतृत्वकर्ता थिए । देशभरी अहिले भाजपाले ३०३ सिट जित्नुमा उनको ठूलो भूमिका रहेको मानिन्छ ।

भारतमा गत अप्रिल ११ देखि मे १९ सम्म भएको लोकसभा निर्वाचनपछि अहिले नयाँ सरकार बनेको हो । नयाँ कार्यकालका लागि प्रधानमन्त्री मोदीसहितका मन्त्रीहरुले गत बिहीबार सपथ ग्रहण गरेका थिए ।

सपथग्रहण समारोहमा स्वदेशीसहित विदेशी विशिष्ट पाहुनाहरुको उल्लेख्य सहभागीता रहेको थियो ।