राजनीति

समृद्धिको नारा बोकेको ओली सरकारले जग समेत बसाल्न सकेनः नेता पौडेल

काठमाण्डौ । नेपाली काङ्ग्रेसका नेताहरुले पार्टी विधि र विधानअनुसार चल्न नसकेको बताएका छन् । नेपाली काङ्ग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय जागरण अभियान’मा पार्टीलाई बलियो बनाउन वैधानिक ढङ्गले चल्नुपर्ने बताएका हुन् ।

काङ्ग्रेस केन्द्रीय सदस्य दिलबहादुर घर्तीले पार्टीलाई बलियो बनाउन पार्टी नेतृत्वले विधानको पालना गर्नुपर्ने बताए । “जागरण अभियानले काङ्ग्रेसलाई जनतासम्म लैजान मद्दत पुगेको छ”, उनले भने । नेता घर्तीले सरकार संविधानको मर्म र भावनाअनुसार चल्न नसकेको आरोप लगाए । अर्का केन्द्रीय सदस्य कमला पन्तले स्थानीय तहदेखि केन्द्रसम्म पार्टीको संरचनालाई पूर्णता दिए मात्र पार्टी बलियो हुने बताए । “भ्रातृ संस्था र शुभेच्छुक संस्थाको अधिवेशन तोकिएको समयमा हुन नसक्दा पार्टी कमजोर हुँदै गएको छ”, उनले भने ।

केन्द्रीय सदस्य प्रदीप पौडेलले काङ्ग्रेसलाई बलियो बनाउन पार्टीभित्र वृहद एकता आवश्यक रहेको बताए । “समृद्धिको नारा बोकेको वर्तमान सरकारले समृद्धिको जग बसाल्न सकेन”, उनले भने । पार्टीका लमजुङ सभापति भेषबहादुर पौडेलले गाउँगाउँमा रहेका विद्यार्थी, महिला, किसानको भावनालाई समावेश गरेर अगाडि बढेमात्र काङ्ग्रेस लमजुङको सङ्गठन बलियो हुने बताए ।

नेता विष्णुप्रसाद धितालले नेता र कार्यकर्ता एकताबद्ध भएर अगाडि बढेमात्र काङ्ग्रेसको सङ्गठन बलियो हुने बताए । सम्पर्क समितिका अध्यक्ष प्रदीपराज अधिकारी, नेपाल विद्यार्थी सङ्घका निवर्तमान कोषाध्यक्ष शिव रिमाल, नेविसङ्घ लमजुङ–काठमाडौँ सम्पर्क समितिका उपाध्यक्ष सुमन बसौलालगायतले काङ्ग्रेसलाई बलियो बनाउन युवामुखी कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिए ।

आठ स्थानीय तहमा संयोजक तोकियो

पार्टीको सङ्गठनलाई बलियो बनाउन लमजुङबाट काठमाडौँ आई बसोबास गर्ने व्यक्तिलाई लमजुङको आठ स्थानीय तहको संयोजक तोकेको छ । वेसीशहर नगरपालिकामा शङ्करदेव जोशी, सुन्दरबजार नगरपालिकामा माधवप्रसाद अधिकारी, राइनास नगरपालिकामा आशिस अधिकारी र मध्यनेपाल नगरपालिकामा विजयरञ्जन पौडेललाई संयोजक तोकिएको छ । यस्तै, क्होलासोथर गाउँपालिकामा धनबहादुर गुरुङ, दोर्दी गाउँपालिकामा गजेन्द्र घले, मस्र्याङ्दी गाउँपालिकामा टिका भण्डारी र दूधपोखरी गाउँपालिकामा राजन दवाडीलाई संयोजक तोकिएको हो ।