मनोरञ्जन

भूजेल भाषाको पहिलो चलचित्र ‘नि–प्हुँगाल’ काभ्रेमा प्रदर्शन गर्दै

बनेपा । आदिवासी जनजाति समुदाय भूजेल भाषाको पहिलो चलचित्र ‘नि–प्हुँगाल’ अर्थात् ‘हामी भूजेल’ काभ्रेपलाञ्चोक जिल्लामा पहिलो पटक प्रदर्शन गर्न लागिएको छ । भूजेल भाषा, धर्म, कला, संस्कृति र भौगोलिक पहिचानलाई समेटेर निर्माण गरिएको चलचित्र भूजेल समाज काभ्रेपलाञ्चोकले बनेपास्थित मयूर हलमा आगामी जेठ २५ गते प्रदर्शन गर्न लागिएको समाजले आज पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् ।

“भूजेल समुदायको भाषा लोप हुँदै गइरहेको अवस्थामा त्यसको संरक्षण, संवद्र्धन गर्नुका साथै कला, संस्कृति, भेषभूषा र आफ्नो समुदायको बसोबास रहेको आदिम थाकथलोलाई चिनाउने किसिमले निर्माण गरिएको चलचित्र ‘नि–प्हुँगाल’ प्रदर्शन गर्न लागिएको हो” समाजका अध्यक्ष प्रेमबहादुर भूजेलले भने। उक्त चलचित्रमा भूजेल भाषा र नेपाली भाषा दुवै प्रयोग गरिएको निर्माण पक्षले जनाएको छ ।

समाजले चलचित्र प्रदर्शनबाट उठेको रकम सामाजिक कार्यमा लगानी गर्ने जनाएको छ । सो समुदायको आदिम थलोको रुपमा रहेको मध्यपश्चिम ढोरपाटन, बागलुङ, तनहुँ र कास्कीमा छायाङ्कन गरिएको चलचित्र कमलबाबु भूजेलले निर्माण गरेका हुन् । यस चलचित्रमा भीम भूजेलको प्रमुख भूमिका रहेको छ भने पूजा भूजेलले नायिकाको भूमिका निर्वाह गरेका छन् । चलचित्रको निर्देशन कृष्ण गुरुङले गरेका हुन् ।