गण्डकी प्रदेश

गुफाको डाँडोमा ‘जगन्नाथ भ्यू–टावर’ निर्माण

गलेश्वर । हिमाली जिल्ला म्याग्दीमा धार्मिक पर्यटकलाई लोभ्याउने धेरै सम्पदा भए पनि पूर्वाधारको अभावमा ओझेलमा परेका सम्पदा स्थानीय समुदायको सक्रियतामा पूर्वाधार निर्माण गर्न थालिएकोे छ । बेनी नगरपालिका–५, पुलाचौरस्थित गाजने गाउँ (जगन्नाथ)मा रहेको पर्यटकीयस्थल गुफाको डाँडोमा भ्यू–टावर निर्माण गर्न लागिएको छ ।

चालू वर्षमा बेनी नगरपालिका तथा वडा कार्यालयको रु पाँच लाखको लागतमा सो टावर निर्माण थालिएको उक्त वडाका वडाध्यक्ष लक्ष्मण बानियाँले जानकारी दिए। वडा तथा नगरपालिकामार्फत् नगर क्षेत्रभित्र रहेका धार्मिक, पर्यटकीय र ऐतिहासिकस्थल संरक्षण, सम्वद्र्धन र प्रचारप्रसारमा जोड दिई धार्मिक पर्यटकलाई जनन्नाथ मन्दिरसम्म ल्याउन र यहाँबाट प्राकृतिक दृश्यावलोकन गराउन भ्यू टावर निर्माण गर्न लागिएको उनले बताए ।

जगन्नाथ मन्दिरमा धार्मिक र गुफाको डाँडोमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन वृद्धि गर्ने उद्देश्यसहित भ्यू–टावर निर्माणको काम अगाडि बढाइएको जगन्नाथ भ्यू–टावर निर्माण समितिका अध्यक्ष यामबहादुर बानियाँले जानकारी दिए। बेनीको शिरमा रहेको पर्यटकीयस्थल गुफाको डाँडो अर्थात् केभहिलमा हालै स्थानीयवासीले हेलिप्याडसमेत बनाएका छन् । जगन्नाथ मन्दिरदेखि १० मिनेटको दूरीमा गुफाको डाँडो र ३० मिनेटको दूरीमा ऐतिहासिक डढेकोट दरबार क्षेत्र छ ।

समुद्री सतहदेखि दुई हजार २०० मिटरको उचाइमा रहेको गुफाको डाँडाबाट विश्वको सातौँ अग्लो चुचुरो धौलागिरिसहित अन्नपूर्ण, माछापुच्छ्रे, नीलगिरि, मानापाथी, गुर्जा, चुरेन, बेहुला–बेहुलीलगायत करीब डेढ दर्जन हिमशृङ्ला अवलोकन गर्न सकिन्छ । गुफाको डाँडाबाट म्याग्दी जिल्लाका साविक ४१ मध्ये ३७ गाविस र पर्वत, बागलुङसहित अन्य जिल्लाका डाँडाकाँडासमेत देखिन्छन् ।

मन्दिर तथा गुफाको डाँडा नजिकै बाइसे–चौबीसे राज्यका पालामा निर्मित ऐतिहासिक डढेकोट राजदरबारको संरचना पनि छ ।कन्टेन्टजेन्सीसहित रु पाँचलाखमा निर्माण गरिने सो टावरका लागि रु ८५ हजार १४७ बराबरको जनश्रमदान व्यहोरिने भएको छ । कूल ३६ फिट उचाइको सो टावरले १७६ दशमलव ७१ वर्गफिट क्षेत्रफल ओगटेको यसमा सात वटा उक्लने र ओर्लने भाग रहेको बेनी नगरपालिकाका सव–इञ्जिनीयर अर्जुन थापाले जानकारी दिए ।