लुम्बिनी

उपमहानगरभित्रै एक हजार १९७ लागुऔषध दुव्र्यसनी

बाँके । नेपालगञ्ज उपमहानगरपालिकामा हाल एक हजार १९७ लागुऔषध दुव्र्यसनी छन् । लागुऔषध दुव्र्यसनविरुद्ध जिल्लामा क्रियाशील विभिन्न सात संस्थाले गरेको प्रारम्भिक सर्वेक्षणअनुसार सो संख्याका दुव्र्यसनी फेला परेको हुन् । उपमहानगरपालिकाभित्र लागुऔषध प्रयोगकर्ताको वर्तमान अवस्था यकिन गर्न नगरका २३ वटै वडाका जोखिमपूर्ण ४२ वटा स्थान छनोट गरी गरिएको प्रारम्भिक सर्वेक्षणमा नगर क्षेत्र लागुऔषधको उच्च जोखिममा रहेको र एक हजार १६३ पुरुष र ३४ महिला लागुऔषधको दुव्यसनीमा रहेको जनाइएको छ ।

तीमध्ये मुखबाट सेवन गर्ने एक हजार १२५, सुँघने ६३ र सुईंको माध्यमबाट लागुऔषध प्रयोग गर्ने नौ जना छन् । तथ्याङ्कअनुसार सबैभन्दा धेरै १६ देखि ४९ वर्ष उमेर समूहका एक हजार तीन, १२ वर्षमुनिका ६४ र ५० देखि ६१ वर्ष उमेर समूहका १३० छन् । लागुऔषध प्रयोगकर्तालाई यसको उपचार हुन्छ भन्ने जानकारी भए पनि हालसम्म २५० जनाले मात्र उपचार गर्दै आएको सर्वेक्षणमा जनाइएकोे छ । यो कूल सङ्ख्याको २० प्रतिशत मात्रै हो । सर्वेक्षणअनुसार नगर क्षेत्रमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या भयावह देखिएको साहारा हाउस नेपालगञ्ज शाखाका सञ्चालक अभिराज क्षेत्रीले बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत रामबहादुर चन्दका अनुसार जिल्लामा पाँच हजारभन्दा बढी लागुऔषध सेवनकर्ता रहेको अनुमान छ । “लागुऔषध प्रयोगकै कारण एचआइभीको जोखिम पनि उच्च रहेको छ”, उनले भने, “यकिन तथ्याङ्क नहुँदा रणनीति तयार गर्न समस्या भइरहेको छ ।”लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाले प्रारम्भिक तथ्याङ्कले आगामी दिनमा अन्सन्धानमा टेवा पु¥याउने बताए। उनले भने, “एभिल, डाइजोपाम, लुबिक जेसिकजस्ता सामान्य मूल्यका कारोवबार घटेपनि ब्राउन सुगर, चरेश, अफिमलगायत महँगो मूल्यका लागुऔषध प्रयोगकर्ता बढेको छ ।

लागुऔषध कारोवारका लागि नेपालगञ्ज ट्रान्जिट बन्ने खतरा पनि उत्तिकै बढेको छ ।” उक्त ब्यूरोकाअनुसार जिल्लामा चालू आवको १० महीनामा प्रतिमहीना औसत ३० जनाका दरले लागुऔषध ओसारपसार तथा दुव्र्यसनीमा संलग्न व्यक्तिलाई पक्राउ गरिसकिएको छ । यो अवधिमा २९७ पक्राउ परेका छन् भने १९२ मुद्दा दर्ता भएका छन् । सो उपमहानगरपालिकाको सहयोगमा लागुऔषधविरुद्ध नेपालगञ्जमा क्रियाशील विभिन्न संस्थाले उक्त सर्वेक्षण गरेका थिए ।