गण्डकी प्रदेश

निःशुल्क शल्यक्रियासहितको स्वास्थ्य शिविरमा २५० बढी लाभान्वित

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा शुक्रबार सम्पन्न निःशुल्क शल्यक्रियासहितको स्वास्थ्य शिविरमा २५० बढी लाभान्वित भएका छन् । नागीमा ग्रामीण स्वास्थ्य केन्द्र सञ्चालन गरेको फेक्ट नेपाल र मोडल अस्पताल काठमाडौँद्वारा आयोजित तीन दिने सो शिविरमा १२ जनाले शल्यक्रिया गराएका थिए

शिविरमा आठको एपेन्डिक्सको उपचार तथा पित्तथैलीको पत्थर निकालिएको थियो भने चारको सामान्य शल्यक्रिया गरिएको स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका आर्थिक संयोजक कृष्ण पुर्जाले जानकारी दिए। ल्याप्रोसकोपी प्रविधिबाट पित्तथैलीको पत्थरी निकालिएको सो शिविरमा नागीसँगै राम्चे, पर्वतको लेखफाँट, सालिजा, हलहले, मल्लाजलगायतका बासिन्दा लाभान्वित भएका थिए ।

गाउँमै शल्यक्रियासहितको शिविर सञ्चालन भएपछि शल्यक्रिया गर्नुपर्ने बिरामीले लाखौँ खर्चिएर ठूला अस्पतालमा पुग्नुपर्ने बाध्यताबाट राहत पाएका छन् । चिकित्सक अर्विन जोसीको नेतृत्वको टोलीले स्वास्थ्य परीक्षण, शल्यक्रिया र औषधि वितरणसमेत गरेको सो शिविरमा १०० ले भिडियो एक्सरे गराउनाका साथै १५० ले स्वास्थ्य परीक्षण गराएका थिए ।