खेलकुद

राष्ट्रिय मिष्टर काठमाडौँ ‘शारीरिक सुगठन’ प्रतियोगिता भदौमा हुने

काठमाडौँ । काठमाडौँ जिल्ला शारीरिक सुगठन तथा फिटनेस सङ्घको आयोजनामा आगामी भदौमा ‘राष्ट्रिय मिष्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिता’ हुने भएको छ । शारीरिक सुगठनअन्तर्गत महिला एथलेटिक्स फिजिक्स, जुनियर मिस्टर काठमाडौँ शारीरिक सुगठन तथा पुरुष स्पोर्ट्स फिजिक्स विधा समावेश गरिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष सुरेश सुवेदीले जानकारी दिए ।

उक्त प्रतियोगिता आगामी भदौ २० र २१ गते हुनेछ । नेपाल शारीरिक सुगठन तथा फिटनेस सङ्घको सहयोगमा हुने उक्त प्रतियोगितामा १३० भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । मिस्टर काठमाडौँका लागि ५५, ६०, ६५, ७०, ७५ र ७५ किलो बढी तौल समूहका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । मिस्टर काठमाडौँमा समूहगत विजेता खेलाडीबीच पुनः प्रतिस्पर्धा गराएर पहिलो हुने खेलाडीले ‘मिष्टर काठमाडौँ’ को उपाधि पाउनेछन् ।

उपाधिसँगै मिष्टर काठमाडौँंले रु एक लाख ५० हजार पुरस्कार पाउनेछन् । महिलातर्फ फाइनल चरणमा छनोट भएका खेलाडीबीच प्रतिस्पर्धा गराई समग्रमा प्रथम हुनेले महिला एथलेटिक्स फिजिक्स उपाधि जित्नेछन् । उपाधीसँगै महिला एथलेटिक्स फिजिक्सले रु ३० हजार, दोस्रोले १५ र तेस्रो हुनेले रु पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै जुनियर मिष्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिता तथा पुरुष स्पोर्टस् फिजिक्सअन्तगर्त १७० सेन्टिमिटरसम्म तथा १७० सेमि माथिको उचाइ समूह गरी दुई उचाई समूहअन्तगर्त फाइनल चरणमा छनोट भएका पाँच पुरुष जुनियर खेलाडीबीच पुनःप्रतिस्पर्धा गराइनेछ । प्रथम हुनेले रु ३० हजार, दोस्रो हुनेले रु १५ हजार तथा तेस्रो हुनेले रु पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् ।