सुदूरपश्चिम

पत्रकार महिलाका लागि सहज वातावरण बनाउन पुरुष पत्रकारको भूमिका आवश्यक छ: डा. रावल

लम्की । पत्रकार महिलाको सुरक्षाका सवालमा सबै गम्भिर बन्नुपर्ने सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. रणबहादुर रावलले बताएका छन् । शुक्रबारदेखि कैलालीको धनगढीमा शुरु भएको ‘पत्रकार महिलाका लागि लैङ्गिक समता र सुरक्षा सम्बन्धी’ प्रदेशस्तरीय तालीमको उद्घाटन गर्दै उनले पत्रकार महिलाको क्षमता वृद्धिसँगै कार्यस्थल र अन्य समयमा भोग्नुपरेका सुरक्षा चुनौतीबारे सरकार गम्भिर बन्नुपर्ने बताए।

उनले पत्रकारको क्षमता अभिवृद्धिका लागि प्रदेशमा नीति निर्माणका साथै योजना ल्याउन पहल गर्ने बताए। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य मीन बमले महासङ्घले पत्रकार महिलाको सङ्ख्यात्मक र गुणात्मक वृद्धिका लागि पहल गरिरहेको बताए । वरिष्ठ पत्रकार मनमोहन स्वाँंरले पछिल्लो समय कार्यक्षेत्रमा पत्रकार महिलाले भोग्दै आएका समस्याबारे बहस हुन थालेको तथा उनीहरु सचेत बन्दै गएको बताए।

पत्रकार महिलाका लागि सहज वातावरण बनाउन सहकर्मी पुरुष पत्रकारको भूमिका आवश्यक भएको उनले बताए। अन्तर्राष्ट्रिय पत्रकार सङ्गठनको सहयोगमा शुरु भएको उक्त तालीमको आयोजना नेपाल प्रेस युनियनले गरेको हो । तालीममा सुदूरपश्चिम प्रदेशका १७ पत्रकार महिला सहभागी छन् ।