राजनीति

हिंसा–अपराधमुक्त प्रदेश बनाउने कार्यमा सरकार अघि बढेको छ: मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई हिंसा र अपराधमुक्त बनाउने कार्यमा सरकार अघि बढिरहेको बताएका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयद्धारा शुक्रबार आयोजित ‘म अघि बढ्छु’ सगरमाथा टिन्स क्लब (एसटिसी) सञ्चालनसम्बन्धी मुख्य प्रशिक्षक प्रशिक्षण समापनका अवसरमा प्रमाणपत्र वितरण गर्दै उनले उक्त धारणा व्यक्त गरेका हुन् ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले शुरु गरेको सुसंस्कृत, स्वच्छ, नैतिकवान र लागुऔषध दुव्र्यसनमुक्त बनाउने अभियानमा सबैको सहयोग आवश्यक रहेकामा जोड दिँदै यसले प्रदेशमा विकास र समृद्धि ल्याउने विश्वास व्यक्त गरे । प्रदेश सरकारले नयाँ अभियानका रुपमा सञ्चालन गरेको युवायुवतीलाई लागुऔषध दुव्र्यवसनीबाट मुक्त गरी समाजप्रति जिम्मेवारीबोध गराई सामाजिक कार्यमा लाग्न उत्प्रेरणा जगाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उहाँले धारणा व्यक्त गरे ।

मुख्यमन्त्री राईले प्रदेशको आगामी नीति कार्यक्रम र बजेटमा कृषि, पर्यटन पूर्वाधार निर्माणलाई मुख्य प्राथमिकतामा राखेको पनि जानकारी दिए। उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलको एउटै उद्देश्य प्रदेशका जनताको आर्थिक समृद्धि कायम गराउनेमा नै केन्द्रीत रहेको बताउँदै सहमति र सहकार्यबाट समुन्नत प्रदेश निर्माणका लागि सरकारले सबैको साथ र सहयोग लिने प्रतिवद्धता व्यक्त गरे।

सो अवसरमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले युवा पुस्तालाई सामाजिक हिंसा, लागुपदार्थ दुव्र्यसनी नियन्त्रण, विपद् व्यवस्थापनमा लगाउन यस अभियान केन्द्रीत रहने र यसबाट समाजमा दीर्घकालीन सोचको विकास हुने धारणा राखे । उनले अभियानअन्तर्गत प्रदेशका १३७ स्थानीय निकायमा रहेका सामुदायिक तथा संस्थागत दुई हजार विद्यालयका झण्डै दुई लाख विद्यार्थीबीच स्वयंसेवकहरु पुगी उनीहरुलाई महिला हिंसा अन्त्य र सकारात्मक भावना जागृत गराउन प्रशिक्षित गर्ने र बीचमै विद्यालय छाड्ने प्रतिशत शून्यमा झार्ने बताए।

कार्यक्रमा मन्त्रालयका सचिव भरतमणि रिजाल, सहभागी प्रशिक्षकहरु डम्बर अधिकारी र प्रकाश पोखरेलले युवायुवतीमा सभ्य, सुसंस्कृत र संस्कारयुक्त नागरिक उत्पादन गर्न सहयोग पुग्ने विचार व्यक्त गरे। प्रदेश सरकारअन्तर्गत २१ र १४ जिल्लाका १४ जना स्वयंसेवकहरु गरी जम्मा ३५ जना प्रशिक्षकलाई यही जेठ १३ गतेदेखि मुख्य प्रशिक्षकको रुपमा तालीम प्रदान गरिएको हो ।