राजनीति

सङ्घीयता भर्खर जन्मेको बच्चा हो, सफल बनाउन सबै राजनीतिक दलको हातमा छः अध्यक्ष भट्टराई

लुम्बिनी । देशमा सङ्घीयताको प्रश्न अझै हल भइनसकेको पुर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बताएका छन् । भैरहवामा आज पत्रकारसँगको कुराकानीमा डा भट्टराईले भने, ‘‘सङ्घीयताको समस्या अझै हल भइसकेको छ्रैन । देशमा दिगो शान्ति र समृद्धि भएपछि मात्रै यस समस्याको हल हुन्छ । हामीले प्रस्ताव गरेको १० जोड एक प्रदेश राज्य पुनःसंरचना आयोगले दिएको सिफारिसको आधारमा गरिएको हो । त्यसलाई कार्यान्वयन तहमा लगेमा पनि धेरै प्रश्नको हल हुनेछ ।’’

डा भट्टराईले सङ्घीयताको विषयमा अहिल्य नै टीकाटिप्पणी गर्नु र सङ्घीयता ठीक छैन भनेर हल्ला गर्नु जरुरी नरहेको समेत बताए । उनले भने, ‘‘नेपालको परिवेशमा सङ्घीयता भर्खर जन्मेको बच्चा जस्तै हो । यसलाई हुर्काउने बढाउने काम सबै राजनीतिक दलको हो ।’’

नयाँ शक्ति पार्टी र सङ्घीय समाजवादी फोरम एकीकरण भई बनेको समाजवादी पार्टी नेपालले भैरहवामा आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा उपप्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष उपेन्द्र यादवसहित भैरहवा आएका उक्त पार्टीका सङ्घीय परिषदका अध्यक्ष डा भट्टराईले स्थानीय सरकारका प्रमुखहरुले गाडी सुविधा र अन्य सुविधा लिए भनेर धेरै हल्ला गर्नु पनि जरुरी नरहेको बताए ।

डा भट्टराईले सरकारले फड्को मार्ने किसिमको बजेट ल्याउन नसकेको टिप्पणी गरे । उनले भने, ‘‘सङ्घीयता, सुशासन, समाजवाद र समृद्धिको जगमा नै देशको विकास सम्भव छ, नेताहरुले सही ढङ्गले काम गरेमा १५ वर्षभित्र देशको आर्थिक स्तर मध्यमस्तरको हुन सक्दछ ।’’