समाचार

कल वाइपास गर्ने ६७ जना विरुद्धपक्राउ गरी सिआईबीले चलायो १२ अर्बको मुद्दा

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले मुलुकका विभिन्न क्षेत्रमा कल वाइपास गरेर राजश्व छली गर्दै आएका १६७ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । ब्यूरो स्थापनापछि गरिएको खोजी अभियानका क्रममा पक्राउ परेका उनीहरुबाट रु ११ अर्ब ९१ करोड बिगोसहितको माग दाबी गरी मुद्दा चलाइएको ब्यूरोका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।

सो अवधिमा ब्यूरोले विभिन्न १०८ स्थानमा कारवाही गरी नेपाली १३० र विदेशी ३७ जनालाई पक्राउ गरेको रेग्मीले बताए । उनीहरु विरुद्धको कारवाहीमा कल वाइपासमा प्रयोग हुने दुई हजार ३७५ आधुनिक उपकरणहरुसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पछिल्लो पटक काठमाडौँबाट खटिएको ब्यूरोको टोलीले यही जेठ १५ गते रुपन्देही, सिद्धार्थनगर नगरपालिका–३ काटागाउँबाट भारतको महराजगञ्ज थाना नौतनवा ग्राम सोनौली घर भएका २६ वर्षीय खुर्सेद अन्सारीलाई पक्राउ गर्न सफल भएको छ । उनको कोठामा खानतलासी गर्दा ल्यापटप, एरियल, कल वाइपास गर्न प्रयोग गरिने डिभाइस, केवल तार सिम पोट, भारतीय सिमसमेत बरामद गरिएको छ ।

उनीविरुद्ध दूरसञ्चार ऐन, २०५३ अन्तर्गत जिल्ला अदालत रुपन्देहीबाट म्याद लिई अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । कल बाइपासमा विदेशीहरु समेत सक्रिय हुने गरेको प्रहरीले जनाएको छ ।