प्रवास

उद्योगपति प्रभाकर शम्शेर जबराको न्यूयोर्कमा निधन

काठमाडौँ । अग्रज उद्यमी प्रभाकरशम्शेर जबराको ८४ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । होटल सङ्घ नेपालका संस्थापक अध्यक्षसमेत रहनुभएका राणाको अमेरिकाको न्यूयोर्कमा उपचारका क्रममा बिहीबार निधन भएको उहाँको पारिवारिक स्रोतलाई उदृत गर्दै सङ्घले विज्ञप्तिमार्फत जनाएको हो । स्व राणाका एक छोरा र एक छोरी हुनुहुन्छ ।

सोल्टी होटलका संस्थापक स्व राणा नेपालमा अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न तारे होटलको स्थापनाकर्ता हुनुहुन्थ्यो । नेपालमा अन्तर्राष्ट्रिय चेन होटल भित्र्याई सफलरुपमा नेपाली होटललाई अन्तर्राष्ट्रिय गुणस्तरको सेवा दिने श्रेय उहाँलाई जान्छ ।

नेपालको पर्यटन प्रवद्र्धनमा उहाँको अतुलनीय सेवा र योगदानको कदर गर्दै देश विदेशबाट विभिन्न मानपदवी अलङ्कारबाट विभूषित गरिएको थियो । स्व राणाले होटल सङ्घको स्थापना वर्ष सन् १९६६ देखि १९७६ सम्म अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँ टाटा मोर्टस्को आधिकारिक वितरक सिप्रदी ट्रेडर्सका संस्थापकसमेत हुनुहुन्थ्यो ।

राणाको निधनबाट पर्यटन तथा होटल उद्योग मात्र नभई मुलुकलाई नै अपूरणीय क्षति पुगेको जनाउँदै होटल सङ्घले स्व राणाको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।