प्रदेश 2

भाडा नबुझाउने उद्योगको सामान जफत

लहान । गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले लामो समयसम्म भाडा बापतको रकम नबुझाउने उद्योगका समान जफत गरी भाडा असुल गर्न थालेको छ ।औद्योगिक क्षेत्रभित्र उद्योग सञ्चालनका लागि सेड भाडामा लिएर पनि लामो समयदेखि उद्योग सञ्चालन नगरेको र भाडा पनि नतिरेकाले कृष्णा खाद्य उद्योग, पद्मा ज्योति प्लास्टिक उद्योग, टी एण्ड कफी सेन्टर, माँ भगवती कृषि सहकारी संस्थाद्वारा सञ्चालित टमाटर प्रशोधन उद्योग र एस एण्ड इलेक्ट्रोनिक्सको समान जफत गरी भाडाबापतको रकम असुल्ने प्रक्रिया अघि बढाएको हो ।

वषौँँ देखि उद्योगको नाममा सेड भाडामा लिएर उद्योग सञ्चालन नगरी कब्जामा राख्ने र भाडाबापतको रकमसमेत नबुझाउने प्रवृत्ति बढेकाले कार्वाही गरी सेड खाली गराइएको र सामानसमेत लिलामी गर्ने प्रक्रिया अघि बढाइएको औद्योगिक क्षेत्रका प्रमुख दीपक आचार्यले जानकारी दिए । खाली गराइएका सेडहरुमा नयाँ उद्योग सञ्चालनका लागि प्रक्रियासमेत शुरु गरिसकेको प्रमुख आचार्यले बताए ।

कार्यालयका अनुसार ती उद्योगहरुबाट करीब रु ४५ लाख भाडाबापतको बक्यौता असुल गर्न बाँकी छ । कृष्णा खाद्य उद्योगबाट करीब रु १२ लाख, पद्मा ज्योति प्लास्टिक उद्योगबाट रु आठ लाख, टमाटर प्रशोधन उद्योगबाट रु पाँच लाख र टी एण्ड कफी सेन्टरबाट रु छ लाख र एस एण्ड इलेक्ट्रोनिक्सबाट रु आठ लाखभन्दा बढी भाडाबापतको रकम उठाउन बाँकी रहेको प्रमुख आचार्यले बताए ।

भाडा नबुझाउने सबै उद्योग बन्द अवस्थामा रहेको र बक्यौता रकम बुझाउन पटक पटक सूचना दिँदासमेत कुनै सुनुवाइ नभएपछि समान जफत गरी सेड खाली गराउन लागिएको प्रमुख आचार्यको भनाइ थियो । कूल २९४ रोपनी (साढे २२ बिघा) मा फैलिएको औद्योगिक क्षेत्र भारत सरकारले २०५१ सालमा निर्माण गरी नेपाललाई हस्तान्तरण गरेको थियो ।