अन्तर्राष्ट्रिय

क्रिकेट विश्वकप, इङ्ल्यान्डद्वारा दक्षिण अफ्रिका १०४ रनले पराजित

लन्डन । एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता बिहीबारदेखि इङ्ल्यान्डमा शुरु भएको छ । पहिलो तथा उद्घाटन खेलमा आयोजक इङ्ल्यान्डका बेन स्टोकको प्रभावशाली प्रदर्शनका कारण दक्षिण अफ्रिका १०४ रनले पराजित भएको छ ।

ओभलमा खेलिएको यस खेलमा बेन स्टोकको ८९ रनको व्यक्तिगत रनसँगै इङ्ल्यान्डले आठ विकेटको क्षतिमा ३११ रनको विशाल स्कोर खडा गरेको थियो । स्टोकले उत्कृष्ट क्षेत्ररक्षण गर्नुका साथै केबल १२ रन दिएर दुई विकेट पनि लिएका थिए । अर्कोतर्फ सात ओभर मात्र बलिङ गरेका इङ्ल्यान्डका जोफ्रा आर्चरले २७ रन दिएर महत्वपूर्ण तीन विकेट लिएका थिए ।

दक्षिण अफ्रिकाले पहिले टस जितेर इङ्ल्यान्डलाई ब्याटिङको निम्तो दिएको थियो । इङ्ल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै ३११ रन बनाएको थियो । इङ्ल्यान्डका लागि जेसन रोय, जो रुट, इओन मोर्गन र बेन स्टोकले व्यक्तिगत ५० भन्दा बढी रन बनाएका थिए ।

]तीन सय १२ रनको विशाल लक्ष्य पाएको दक्षिण अफ्रिकाले राम्रो खेल प्रदर्शन गर्न सकेन । क्विन्टन डी कक र भान डर डुसेनले व्यक्तिगत ५० रन बनाउनु बाहेक अरु खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । दक्षिण अफ्रिकाले ३९।५ ओभरमा सबै विकेट गुमाएर २०७ रन मात्र बनाउन सक्यो । शुक्रबार पाकिस्तान र वेस्ट इन्डिजबीच दोस्रो खेल हुनेछ ।