गण्डकी प्रदेश

पर्वतारोहीद्वारा विद्यालय भवन निर्माण

हेटौँडा । दुई बेलायती पर्वतारोहीले भूकम्पबाट प्रभावित मकवानपुरका तीन वटा विद्यालयमा भवन निर्माण गरेको छ । पूर्वी मकवानपुर बकैया गाउँपालिकाका–९ भैरुङ दोभानस्थित ज्ञानोदय आधारभूत विद्यालय, वडा नं १० मन्थलीस्थित सरस्वती आधारभूत विद्यालय र वडा नं ११ ठिंगनस्थित लालकिरण आधारभूत विद्यालयमा दुई/दुई कोठे भवन निर्माण गरिएको हो ।

बेलायतका पर्वतारोही रोरी म्याकहुज र बर्नी एङ्गोलाको सहयोगमा सो भवन निर्माण गरिएको हो । तीमध्ये ज्ञानोदय आधारभूत विद्यालयमा निर्मित भवनलाई हस्तान्तरण गरिएको छ । रु १६ लाखको लागतमा निर्माण भएको ती भवन बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल र पर्वतारोही म्याकहुज र एङ्गोलाले संयुक्तरुपमा उद्घाटनसमेत गरे।

विद्यालयका अध्यक्ष दुर्गाबहादुर घलान र प्रधानध्यापक रामकिसुन शाहले भवन निर्माणले निक्कै सहयोग पुगेको र सहयोगीलाई धन्यवादसमेत दिनुभयो । विद्यालयमा ६३ जना बालबालिका अध्ययनरत छन् भने उनीहरु सबै तामाङ समुदायका हुन् ।

सो विद्यालय भवन निर्माणका लागि पर्वतारोहीले इस्थर बेञ्जामिन मेमोरियल फाउण्डेशन संस्थामार्फत् आर्थिक सहयोग उपलब्ध गराएका हुन् । दुईकोठे भवन निर्माण गर्न प्रतिविद्यालय रु १६ लाख सहयोग उपलब्ध गराएको इस्थर बेञ्जामिन मेमोरियल फाउण्डेशनका जिल्ला कार्यक्रम व्यवस्थापक बुद्ध लामाले बताए ।

उनले ती विद्यालयमा शौचालय, डेक्स–बेञ्च निर्माण र प्रारम्भिक बालविकास केन्द्रका लागि सामग्री गरी थप रु सात लाख ५० हजारसमेत सहयोग गरेको बताए। पर्वतारोही रोरी म्याकहुज र बर्नी एङ्गोलाले सन् २०१७ मे २६ मा सगरमाथा आरोहण गरेका थिए ।