लुम्बिनी

दुई सय पचास जना अट्ने स्थानमा करीब ७५० जना कैदीबन्दी

नेपालगञ्ज । दुई सय पचास जना अट्ने स्थानमा करीब ७५० जनालाई राखियो भने ती मानिसको अवस्था कस्तो होला ? हो, नेपालगञ्ज शहरको ठीक बीच भागमा रहेको बाँके जिल्ला कारागारका कैदीबन्दीले अहिले यस्तै सकसपूर्ण अवस्था र नियतिको सामना गर्नु परेको छ । कोठाभित्र मात्र नभएर बाहिरसमेत कैदीबन्दी बस्ने, सुत्ने स्थानको अभाव छ । “कारागारमा महिला कैदीबन्दी ६४ र तीन आश्रित बालबालिकासहित ७४५ जनालाई राखिएको छ, क्षमताभन्दा बढी भएकाले सुरक्षा चुनौती बढेको छ”, जेलर भरत पाण्डेले भने ।

नेपालगञ्ज–१० स्थित यो कारागारको भौतिक अवस्था अहिले जीर्ण हुँदै गएको छ । स्थापना हुँदा बनेका दुई भवन र पर्खाल एकदमै पुराना भइसकेका छन् । कारागारमा कैदीको सङ्ख्या बढदै गएको छ भने वरिपरिको वातावरण एकदमै फोहर छ । कारागारबाट निस्केको फोहर हाताभित्र फालिन्छ र ढल निकासको पर्याप्त व्यवस्था छैन । फोहर बढी भएकाले कैदीहरु अधिक सङ्ख्यामा बिरामी हुने गर्छन् । फोहरकै कारण कैदीको सुरक्षामा खटिएको सुरक्षाकर्मीलाई पनि सुरक्षा दिन अप्ठ्यारो हुने गरेको जेलर पाण्डेको भनाइ थियो ।

कारागार प्रशासनले कारागारको चारैतिर बलिया पर्खाल नभएको, कारागार घना बस्तीको बीचमा रहेको र क्षमताभन्दा बढी कैदीबन्दी रहेकाले सुरक्षा चुनौती थपिएको बताएको छ । कारागार सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ५० जना सुरक्षाकर्मी खटिएका छन् । “क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्ने बाध्यता, आधुनिक सुरक्षा प्रबन्धको अभाव र घना बस्तीको बीचमा कारागार हुनाका कारण सुरक्षा चुनौती बढेको हो”, जेलर पाण्डेको भनाइ छ ।

सबै पक्षलाई दृष्टिगत गरी बाँकेको गनापुरमा खुल्ला कारागार निर्माण शुरु गरिएको छ । जेलर पाण्डेका अनुसार आठ बिघा क्षेत्रफल रहेको खुल्ला कारागारको ब्यारेकको निर्माण सकिएको र अन्य संरचना निर्माण भइरहेका छन् । यसैगरी बाँकेकै नौवस्तामा पनि १० बिघा क्षेत्रफलमा तीन हजार कैदीबन्दी अट्न सक्ने क्षमताको क्षेत्रीय कारागार निर्माण भइरहेको छ । यी दुवै कारागारको निर्माण पाँच वर्षभित्र सक्नुपर्ने सम्झौता ठेकेदारसँग भएको छ । “यी दुवै कारागार निर्माण भएपछि सम्भवतः नेपालगञ्जको मानव बस्तीको बीचमा रहेको बाँके जिल्ला कारागारलाई विस्थापित गरिनेछ”, बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजुले बताए ।