गण्डकी प्रदेश

पर्यटकलाई मनोरञ्जन दिने उद्देश्यका साथ ४० नयाँ गन्तव्यको खोजी- मन्त्री लम्साल

दमौली । गण्डकी प्रदेश सरकारले पर्यटकलाई आकर्षित गर्न ४० नयाँ गन्तव्यको खोजी गर्ने भएको छ । आन्तरिक भ्रमण वर्षलाई सफल पार्न र पर्यटकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले प्रदेश सरकारले ४० वटा नयाँ गन्तव्यको खोजी गर्न लागेको हो ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेशभित्रका प्रत्येक जिल्लामा नयाँ गन्तव्य खोजीका लागि सम्भाव्यता अध्ययन गर्न लागिएको जानकारी दिए। आज दमौलीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री लम्सालले भने, “प्रत्येक जिल्लामा फरक–फरक गन्तव्य बनाउने सरकारको सोच हो । त्यसका लागि अध्ययन गर्ने तयारी गरेका छौँ ।”

सन् २०२२ सम्ममा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सरकार अगाडि बढेको र उक्त लक्ष्य पूरा गराउन पर्यटकीय गन्तव्य पहिचान आवश्यक रहेको उनको भनाइ थियो । मन्त्री लम्सालले आज नै तनहुँको व्यास नगरपालिका–३ मा निर्माण हुन लागेको गुरुङ सङ्ग्रहालयको अवलोकन गर्दै त्यसका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका छन् ।