पु.समाचार

बृद्ध भएपछि न त छोराछोरीले हेर्छन्, न त स्थानीय सरकारले नै !

रोल्पा । रोल्पा नगरपालिका–४ का चुडामणि आचार्य ९० वर्ष पुग्नुभयो । दुई श्रीमतीबाट ११ सन्तान छन् आचार्यका । अहिले उहाँ कान्छो छोरासँग बस्दै आउनुभएको छ । छोराछोरी कोही व्यापारी, कर्मचारी, वकिल छन् त कोही शिक्षक । छोराछोरी सबै आ–आफ्नै काममा व्यस्त, उहाँ साँझबिहान परिवारसँगै खाना खाने समयबाहेक अरु बेला बस्दैनन् । उहाँको साहारा भनेकै ‘बेडरुम’ र लौरी हो । “बुढेसकालमा कहिले कता दुख्छ, कहिले कता, हिँडडुल गर्न पनि समस्या हुन्छ, मेरो साहारा, भरोसा जे भने पनि यही हो”, आफूसँगै भएको लठ्ठी देखाउँदै आचार्यले भन्नुभयो ।

नगरपालिकाभित्रकै ७६ वर्षका धनमाय भनेर चिनिने चिन्तामणि आचार्य पनि अर्को त्यस्तै पात्र हुनुहुन्छ । तीन छोराछोरीका बुबा आचार्यको अहिले हातमुख जोड्ने माध्यम भनेको जजमान थियो । दिनभर टुँडिखेलमै बसेर चिना हेरेर उहाँले साँझ–बिहानको छाक टार्नु हुन्थ्यो । तर, अहिले आँखा, कान दुवैले काम गर्न छाडेपछि त्यो पेशा पनि छाड्नुभएको छ । “साहारा कोही छैन, श्रीमती पनि मसँग मिल्न नसकेर छोराहरुसँग बस्छे, म एक्लै बस्छु, खाना खर्च पनि हुँदैन, कहिलेकाहीँ चिना हेराउनेले थोरै पैसा दिन्छन्, त्यहीले छाक टार्ने गरेको छु, कहिले त भोकैसमेत बस्नुपर्छ, वृद्धाश्रम भए त त्यही गएर बस्नुहुन्थ्यो, रोल्पामा वृद्धाश्रम पनि छैन, जुनी कटाउन साह्रै गाह्रो भो, छोराछोरी जन्माएर के गर्नु”, भावुक हुँदै आचार्यले भन्नुभयो ।

दुर्गाप्रसाद उपाध्याय ७७ वर्ष पुग्नुभयो । दुई श्रीमतीबाट छ भाइबहिनी सन्तान भएता पनि उहाँ पनि बेसाहारा हुनुहुन्छ । अहिले उहाँले साँझ–बिहान खाना बनाउनेदेखि सबै काम एक्लैले गर्नुहुन्छ । “उमेरमा छोराछोरीका लागि भनेर कति दुःखकष्ट गरियो, यिनकै लागि भनेर कहिले भोकै पेट त कहिले आधा पेट खाएर काम गरियो, छोराछोरीले पकाएर देलान् भन्ने उमेरमा आफैँले सबथोक गर्नुपरेको छ, अहिले त छोराछोरी जन्माउनु, हुर्काउनु बेकारजस्तो रहेछ”, उपाध्यायले दुखेसो पोख्नुभयो ।

जिल्लाका यी त प्रतिनिधि पात्र मात्र हुन्, जिल्लामा यस्ता ज्येष्ठ नागरिक जो, आफ्ना सन्तानबाट अपहेलित हुने गरेका धेरै छन् । बुढेसकालको उमेरमा छोरा–बुहारीले घर निकाला गर्ने, बेलाबेलामा मानसिक यातना दिने, कुटपिट गर्ने, समयमा खाना नदिने, उनीहरुको भावनाविपरीत काम गर्नेजस्ता समस्या ज्येष्ठ नागरिकले भोग्दै आएका छन् ।

यस्तै समस्याबाट ग्रसित ज्येष्ठ नागरिकका संरक्षणका लागि जिल्लामा वृद्धाश्रमको व्यवस्था भए उहाँहरुलाई जीवनयापन गर्न सहज हुने ज्येष्ठ नागरिक जिल्ला सङ्घका अध्यक्ष तेजराज आचार्यको भनाइ छ । रोल्पामा आफ्नो सन्तानबाट अपहेलित वा सन्तान व्यस्त भएका कारण आफ्ना वृद्ध बुबाआमालाई हेरचाह गर्न नसकेका ज्येष्ठ नागरिकलाई संरक्षण गर्न स्थानीय निकायले समेत चासो नदेखाएको अध्यक्ष आचार्यको गुनासो छ ।

ज्येष्ठ नागरिकका लागि भनेर छुट्याएको बजेटसमेत स्थानीय सरकारले बाटो, खानेपानीजस्ता शीर्षकमा खर्च गर्ने गरेको उहाँले बताउनुभयो । यस विषयमा पटक–पटक आवाज उठाउँदा पनि कतैबाट सुनुवाइ नभएकामा उहाँले खेदसमेत प्रकट गर्नुभएको छ । सरकारले नारामा ‘ज्येष्ठ नागरिकको सम्मान, सभ्यताको पहिचान’ भन्ने दिए पनि नारामा मात्र सीमित भएको ज्येष्ठ नागरिकहरुको गुनासो छ ।

सरकारले ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भने पनि आफूहरुले सेवा उपभोग गर्न नपाएको रोल्पा नगरपालिका–२ कै वासु श्रेष्ठले गुनासो गर्नुभएको छ । टाउको दुखेको बेला प्रयोग गरिने सिटामोल किन्न पनि आफूले पैसा तिर्ने गरेको उहाँको भनाइ छ ।
रोल्पा जिल्लामा २१ हजार ३७४ ज्येष्ठ नागरिक रहेको ज्येष्ठ नागरिक जिल्ला सङ्घको तथ्याङ्कमा उल्लेख छ । केही गाउँपालिकाले ज्येष्ठ नागरिकका लागि बजेट छुट्याए, कोहीले भने ज्येष्ठ नागरिकको नाममा छुट्याएको बजेट विकास निर्माणमा खर्च गरे केही पालिकाले भने ज्येष्ठ नागरिकका लागि भनेर बजेट नै छुट्याएनन् । सरकारले यातायात, स्वास्थ्यलगायतका क्षेत्रमा सहुलियत दिने भने पनि व्यवहारमा केही लागू भएको छैन ।
सन्तती व्यस्त हुँदा वा बुढेसकालमा विविध कारणले अपहेलित भएका ज्येष्ठ नागरिक वृद्धाश्रमको खोजीमा भौतारिएका छन् । स्थानीय सरकारले यस्ता ज्येष्ठ नागरिकको सम्मानका लागि सँगै उनीहरुसँग भएको असीमित सीप, दक्षता र अनुभवलाई नयाँपुस्तामा हस्तान्तरण गर्नका लागि विशेष खालको कार्यक्रम ल्याउनुपर्ने आजको आवश्यकता देखिएको छ ।