राजनीति

शान्ति र विकासमा ओली सरकार पूर्णतः असफल, बजेट कार्यान्वयनमा चुनौती- वरिष्ठ नेता पौडेल

काठमाण्डौ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार सङ्घीय संसद्मा अर्थमन्त्रीले प्रस्तुत गरेको बजेट महत्वाकांक्षी भएकाले यसको कार्यान्वयनमा चुनौती देखिने बताएका छन् ।

“बजेट वितरणमुखी भएकाले कार्यान्वयनमा समस्या हुन्छ । जनतालाई तत्काल खुशी पार्ने बजेटमा देशको अर्थतन्त्रलाई धान्ने खालको महत्वपूर्ण योजना समेटिएका छैनन्”, आज मार्तडीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले भने।

देशको अर्थतन्त्रलाई मजबुत बनाउने योजना बजेटमा नसमेटिएकाले राष्ट्रको समृद्धिको यात्रालाई टेवा नपुग्ने उनको भनाइ थियो । देशमा शान्ति, स्थिरता, स्थायित्व र समृद्ध विकासमा सरकार असफल बनेको वरिष्ठ नेता पौडेलले आरोप लगाए ।

देश सञ्चालन गर्ने जति सरकार आए पनि सजिलो अवस्था नपाएर समस्यै समस्यामा अगाडि बढ्दै गएको र अहिलेको सरकार चलाउन अनुकूल वातावरण बन्दा पनि त्यो कार्यान्वयन गर्न नसकेको वरिष्ठ नेता पौडेलको टिप्पणी थियो ।