लुम्बिनी

न्यूनदृष्टियुक्त भोला र भावुकका सफलताका पाना

नेपालगञ्ज । मानिसको बाहिरी आँखा जति सुन्दर र मनमोहक सुन्छ, त्योभन्दा अझ धेरै मनको आँखा प्रभावकारी हुन्छ । बाहिरी आँखाले नदेख्नेलाई सबैखाले अवसर उपलब्ध गराउनाका साथै माया पनि गरियो दृष्टिविहीन र न्यूनदृष्टि भएकाहरु प्नि सामान्य मानिस जस्तै सबल र सक्षम हुन सक्छन् भन्ने प्रमाणित भइसकेको छ ।

यसका ज्वलन्त उदाहरण हुन् ३७ वर्षीय दृष्टिविहीन भोला त्रिपाठी । स्नातक तहसम्मको अध्ययन पूरा गरेका उनले २०६२ सालदेखि नेपालगञ्जस्थित मङ्गलप्रसाद माविमा शिक्षकको भूमिका निर्वाह गर्दै आएका छन् । सो विद्यालयमा अध्ययनरत ४० भन्दा बढी दृष्टिविहीन र न्यूनदृष्टि भएका बालबालिकाका साथै किशोरकिशोरीलाई भोलाले पढाइरहेका छन् ।

बर्दियाको बढैयाताल गाउँपालिका–६ मैनापोखरमा जन्मनुभएका उहाँ जन्मजात दृष्टिविहीन छन् । “दृष्टि नभएको बोध हुने उमेरदेखि नै यो शोकलाई मैलै शक्तिमा बदल्ने अटोठ गरेको थिए । पछि नेपालगञ्ज आएर शिक्षा विषयमा स्नातक गरेर आफू जस्तै दृष्टिविहीन र न्यून दृष्टिभएका बालबालिकालाई बे्रललिपिबाट अध्ययन गराइरहेको छु”, भोलाले विगत सम्झँदै भने । भोलाकी धर्मपत्नी शिक्षिका सुस्मिता थापा न्यूनदृष्टि भएको व्यक्ति छन् । सुस्मिताले बाँकेको लक्ष्मी माविमा सामान्य विद्यार्थीहरुलाई अध्यापन गराइरहेका छन् ।

यसैगरी नेपालगञ्ज–११ का भावुक थापा पनि भोला जस्तै नेपाली समाजका लागि एक उदाहरणीय व्यक्तित्व बनेका छन् । एक्काइस वर्षको उमेरमै २०५१ सालमा ह्याण्डबल खेल्ने क्रममा कञ्चटमा बलले लागेर दृष्टि गुमेको घटना भावुकका लागि ठूलो पीडादायी बन्न पुगेको छ । परिवारको साथ र सहयोग पाएपछि नियतिसँग सम्झौता गरेर अघि बढ्ने प्रण भावुकले गरे र अहिले उनी पनि शिक्षण पेशामै छन् । “शुरुआतमा गुमेको दृष्टि फर्कन्छ कि भनेर धेरै प्रयास परिवारबाट भयो । सम्पत्ति पनि धेरै खर्च भयो, जीवनदेखि निराशा पनि त्यत्तिकै थियो तर दृष्टिविहीन र अपाङ्गता भएका विश्वका अन्य व्यक्तिहरुका सफलताका, सङ्घर्षका कथा सुनेपछि आफूले पनि केही गर्नुपर्छ भनेर नियतिसँग सम्झौता गरेर अघि बढेका हूँ”, ४८ वर्षीय भावुकले विगत स्मरण गर्दै भने ।

स्नातकसम्म अध्ययन गरेका उनी नेपालगञ्जस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा २०५६ देखि शिक्षण पेशामा संलग्न छन्। भावुकले विद्यालयका तीन र चार कक्षाका विद्यार्थीलाई प्रायः सबै विषय पढाउने गर्नुभएको छ । सामान्य अवस्थाकी उहाँकी धर्मपत्नी मीना थापा कुनै पेशामा भने संलग्न छैनन् दृष्टिविहीन शिक्षक भोला र भावुक शिक्षण पेशामा मात्र सीमित हुनुहुन्न । अन्य दृष्टिविहीन, न्यूनदृष्टि भएका र अपाङ्गता भएकाहरुको भविष्य राम्रो बनाउने अभियानमा समेत उहाँहरू संलग्न छन् । भोला नेपाल नेत्रहीन सङ्घको कोषाध्यक्ष र भावुक सचिवको जिम्मेवारीमा छन् । बाँके जिल्लाका करीब ६०० दृष्टिविहीन र न्यूनदृष्टि भएका बालबालिका, किशोरकिशोरी, युवा र ज्येष्ठ नागरिकको जीवन सरल र सहज बनाउने लक्ष्य, उद्देश्य उनीहरुसँग छ ।

जिल्लाका दृष्टिविहीन, न्यूनदृष्टिविहीनहरुलाई शिक्षा, सीप विकास तालीम र रोजगार दिलाउने र उनीहरुको अधिकारका लागि सङ्घर्ष गर्दै आएका भोला र भावुकको अभियानमा अन्य पक्षको सहयोग र सहकार्य पनि त्यत्तिकै आवश्यक पनि छ । ‘अपाङ्गता भएकाहरुले प्नि हामी जस्तै भावना, इच्छा, आकाङ्क्षा र चाहना बोकेका हुन्छन् भन्ने सन्देश नेपाली समाजमा पु¥याउनु र सबैलाई उच्च सम्मान गर्न सिकाउनु नै हाम्रो अभियानको उद्देश्य र लक्ष्य हो’, भोलाको भनाइ छ ।

‘बाहिरी आँखाले नदेखे पनि दृष्टिविहीन र न्यूनदृष्टिविहीनहरुसँग भित्री क्षमता धेरै हुन्छ । उनीहरुले अवसर पाए कुनै कुरामा पनि पछि पर्दैनन् । दृष्टिविहीनहरु पनि शिक्षकदेखि अधिकृतसम्मको पदमा काम गरिरहेका छन् । उनीहरुलाई क्षमताअनुसारको रोजगारी दिनुपर्छ र अवसर पाए दृष्टिविहीनले पनि धेरै ठूलाठूला काम गर्न सक्छन्’, थापाको ठम्याइ छ ।