गण्डकी प्रदेश

बाख्रापालक कृषकलाई अनुदान रकम वितरण

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ ले विपन्न तथा बाख्रापालक कृषकलाई अनुदान रकम वितरण गरेको छ । कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले वडाभित्रका विपन्न बाख्रापालक कृषकलाई अनुदान रकम वितरण गरिएको हो ।

पचास कृषकलाई जनही रु २० हजारदेखि रु एक लाखसम्म अनुदान वितरण गरिएको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिए । उनका अनुसार अगुवा किसान तीलबहादुर गुरुङ र मीनबहादुर गुरुङलाई जनही रु एक÷एक लाख अनुदान वितरण गरिएको छ । उनले भने, “दुवैले व्यवस्थित तरिकाले आधुनिक खोरमा १५ भन्दा बढी माउ बाख्रा पालेकाले रु एक लाख अनुदान प्रदान गरेका हौँ ।”

पशुपालन र कुखुरापालन गर्न खोेर निर्माण गरेका ११ विपन्न परिवारलाई रु २० हजारका दरले अनुदान रकम वितरण गरिएको छ । वडाध्यक्ष गुरुङका अनुसार कुखुरा र बाख्रापालन गर्न खोर बनाएका तर लगानी गर्नसक्ने अवस्था नभएका किसान छनोट गरी रु २० हजारका दरले अनुदान उपलब्ध गराइएको छ ।

अठ्ठाइस् बाख्रापालक किसानलाई रु ३० हजारका दरले अनुदान वितरण गरिएको छ । रु ३० हजार पाएका किसानले कम्तीमा पाँच वटा माउ बाख्रा र व्यवस्थित खोर बनाएका छन् । दश भन्दा बढी माउ बाख्रा पालेका र व्यवस्थित खोर बनाएका नौ किसानलाई रु ५० हजारका दरले अनुदान वितरण गरिएको छ ।

चालू आर्थिक वर्षमा विनियोजित रु २२ लाख बजेटबाट किसानले बनाएको व्यवस्थित बाख्राको खोर, बाख्राको सङ्ख्या र विपन्नतालाई मूल्याङ्कन गरी अनुदान वितरण गरिएको वडाध्यक्ष गुरुङले जानकारी दिए । उनले भने, “अनुदान पाएका किसानले अनुदान रकमको सदुपयोग गरे÷नगरेको अनुगमन गर्छौँ । दुरुपयोग भएमा तत्काल अनुदान जफत समेत गर्न सकिनेछ ।” त्यस्तै वडाले सात भैँसीपालक किसानलाई २५ प्रतिशत अनुदानमा रु ३५ हजार बढी मूल्य पर्ने घाँस काट्ने मेसिनसमेत वितरण गरेको छ ।