समाचार

गणतन्त्रलाई परिपक्व र सुन्दर बनाउनुपर्छः नरहरी आचार्य

काठमाण्डौ । नेपाली काङ्ग्रेसका नेता नरहरि आचार्यले गणतन्त्रलाई परिपक्व र सुन्दर बनाउन अबको समय खर्चनुपर्ने बताए । गणतन्त्र दिवसको अवसरमा नेपाली काङ्ग्रेस चितवनले बुधबार यहाँ आयोजना गरेको गणतन्त्र स्थापनाको एक दशक विषयक प्रवचन कार्यक्रममा उनले गणतन्त्रलाई बलियो बनाउनका लागि बहस र छलफल आवश्यक रहेको बताएका छन् ।

राजतन्त्रका कारण जनताले दुःख पाएपछि गणतन्त्र ल्याउन सङ्घर्ष गर्नुपरेको उनको भनाइ थियो । गणतन्त्रपछि जनताले ठूलो आशा गरेको भन्दै गणतन्त्रले केही दिने नभइ लाभ लिने काम गर्नुपर्ने उनको भनाइ थियो । जनताको सर्वोच्चताका लागि सबैको बलिदानीले गणत्रन्त्र आउन सफल भएको भन्दै नेता आचार्यले अब फेरि यसलाई कार्यान्वयनको दिशामा लैजान सबै लाग्नु आवश्यक छ भने।

सङ्घर्षले मात्र सङ्गठन बलियो बन्ने भन्दै उनले काङ्ग्रेस मजबुत बनाउन अहिलेको परिस्थितिलाई अध्ययन गरी अघि बढ्नुपर्छ भने । नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवनका पूर्व सभापति तोपमान सिंह गुरुङ्, काङ्ग्रेस नीति तथा प्रशिक्षण प्रतिष्ठान केन्द्रीय सदस्य कमला लामिछाने लगायतले बोलेका थिए ।