पु.समाचार

औद्योगिक पूर्वाधार विकासमा तीन अर्ब

काठमाण्डौ । सरकारले औद्योगिक पूर्वाधार निर्माण गर्न रु दुई अर्ब ८७ करोड विनियोजन गरेको छ । सङ्घीय संसदको संयुक्त बैठकमा बुधबार आगामी आव २०७६/०७७ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले विभिन्न औद्योगिक करिडोर निर्माण गर्न पर्याप्त मात्रामा बजेट विनियोजन गरिएको बताए ।

इटहरी–विराटनगर, पथलैया–वीरगञ्ज, बुटवल–बेलहिया, कोहलपुर–जमुनाह र अत्तरिया–धनगढीलाई औद्योगिक कोरिडरको रुपमा विकास गर्न जमिन व्यवस्थापन, सडक स्तरोन्नति, ढल निर्माण र विद्युत् प्रसारण लाइनजस्ता पूर्वाधारका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
निर्यातमूलक उद्योग स्थापनाका लागि सरकारी तथा निजी साझेदारीमा विशेष आर्थिक क्षेत्र र अन्तरदेशीय आर्थिक क्षेत्र स्थापना एवं विस्तार गरिने बजेटमा उल्लेख गरिएको छ । सरकारले नुवाकोट र काभ्रेको पाँचखालमा आर्थिक क्षेत्र स्थापनाका लागि बजेट विनियोजन गरेको छ ।
बजेटले स्थानीय कच्चा पदार्थमा आधारित लघु, घरेलु, साना तथा मझौला उद्योगलाई प्रवद्र्धन गर्ने नीति अख्तियार गरेको छ । उद्यमशील र उत्पादनशील संस्कृतिको विकास गरी मूल्य शृङ्खलामा आधारित लघु, घरेलु तथा साना, मझौला र ठूला उद्योगमा अग्र तथा पृष्ठ सम्बन्ध कायम गरिनेछ । नवीनतम् ज्ञान, सीप र क्षमता भएका उद्यम तथा व्यवसाय सञ्चालन गर्न शुरुआती पूँजी उपलब्ध गराउन ‘च्यालेञ्ज फण्ड’को ब्यवस्था गरिएको छ ।