राजनीति

हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाकालागि एकता जरुरीः अध्यक्ष लोहनी

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष प्रकाशचन्द्र लोहनीले समान विचारधारा बोकेका विभिन्न दल र राप्रपा परिवेशका सङ्गठनलाई एकताबद्ध गरेर बलियो राष्ट्रवादी शक्ति निर्माण गरिने बताएका छन् । पार्टीको २९औँ स्थापना दिवसका अवसरमा चाबहिलस्थित कार्यालयमा बुधबार आयोजित कार्यक्रममा अध्यक्ष लोहनीले पार्टीले हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाका विषयमा लिएका मान्यता स्थापित गर्न राष्ट्रवादी शक्तिको एकताको खाँचो औँल्याए ।

सरकारले विभिन्न निकायको कार्य क्षेत्रलाई सङ्कुचन बनाएर प्रधानमन्त्री कार्यालयको मातहतमा अधिकार केन्द्रित गर्न नहुने उनले बताए । सुशासन कायम गर्न सरकारले गरेका प्रयत्नको भने अध्यक्ष लोहनीले प्रशंसा गरे । संविधान निर्माणमा सहयोग गरेवापत आफूलाई सरकारले पदक वितरण गर्न लागेकामा प्राविधिक कारणले त्यसलाई ग्रहण गर्न नसकेको उनको भनाइ थियो । उक्त कार्यक्रममा अध्यक्ष लोहनीले पार्टीको झण्डोत्तलनसमेत गरेको नेता सुन्दर पाण्डेले जानकारी दिए ।

यसैबीच राप्रपाले पनि २९औँ स्थापना दिवस मनाएको छ । अध्यक्ष कमल थापाले मुलुकको विकास र समृद्धिका लागि राजादेखि नेत्रविक्रम चन्द समूहसम्म सबै अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र निर्माण गर्नुपर्नेमा जोड दिए। लोकतन्त्रको संरक्षणका लागि कुनै पनि राजनीतिक शक्तिलाई निषेध गर्न नहुने उनको भनाइ थियो । अध्यक्ष थापाले गरीबी र बेरोजगारी समस्या, भ्रष्टाचार, सनातन धर्ममाथि सङ्गठित र योजनाबद्ध रुपमा भइरहेको आक्रमण, सर्वसत्तावादी प्रवृत्ति र बाह्य शक्तिको हस्तक्षेपको चुनौती रहेको बताए। सात सय ५३ वटै स्थानीय तहमा पार्टीका भ्रातृ सङ्गठनको गठन सँगसँगै जनमुखी एवम जनसङ्घर्षका कार्यक्रम सञ्चालन गरिने नेता देवेन्द्र प्रधानले जानकारी दिए ।