बाग्मती

बूढी गण्डकी खोलाको पुल उद्घाटन

भक्तपुर । नेकपाका केन्द्रीय सदस्य एंव पूर्वउद्योगमन्त्री महेश बस्नेतले सूर्यविनायक नगरपालिका–५ कटुञ्जे र वडा नं ७ गुण्डु किवाचोक जोड्ने बूढी गण्डकी खोलामा बनेको पुलको आज उद्घाटन गरे ।

रु एक करोड ३७ लाख ८४ हजारको लागतमा सो पुल निर्माण भएको हो । सो अवसरमा पूर्वउद्योगमन्त्री बस्नेतले चिया पसलमा बसेर कुरा काट्नेदेखि संसद्मा बसेर आलोचना गर्नेको अब सरकारको काम देखेर मुख बन्द हुने बताए।

स्थानीय जनताको मागका आधारमा प्रधानमन्त्री रोजगार कार्यक्रम लागू भएको चर्चा गर्दै उनले सामाजिक सञ्जालमा केही व्यक्तिले सरकारसँग गुनासो गरेपनि देशभरका अधिकांश जनताले सरकारप्रतिको विश्वास अटल रहेको बताए ।

सांसद बस्नेतले भने, “बाहिर स्याल हुँइया जति गरे पनि जनताले सरकारलाई पूर्ण विश्वास गरेका छन्, आजको बजेटबाट वृद्धभत्ता बढ्छ, तलबवृद्धि हुन्छ तथा भौतिक विकासका शीर्षकमा बजेट विनियोजन हुन्छ, कसैको विरोधले विकास अब रोकिन्न ।”

अबको चारवर्षमा भक्तपुरको विकासले मुहार फेर्ने र भक्तपुरलाई देखेर अचम्म मान्नुपर्ने अवस्था आउने उल्लेख गर्दै उनले अब भक्तपुरले विकास खोज्नेभन्दा पनि विकासले भक्तपुर खोज्दै आउने बताए ।

नेता बस्नेतले कटुञ्जेबाट दधिकोट जाने सडकमा ७५ लाख, दधिकोटदेखि किवाचोक आउने सडकमा उपत्यका प्राधिकरणबाट रु ९० लाख छुट्याएको जानकारी दिदैं भक्तपुरको सम्पूर्ण सडकको गुरुयोजना तयार गर्ने र आगामी पाँच वर्षमा भक्तपुरका सबै सडकलाई कालोपत्र गरिसक्ने आफ्नो योजना रहेको धारणा व्यक्त गरे ।

सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले सूर्यविनायक नगरपालिका विकास र समृद्धिमा तीव्र गतिमा अघि बढेकाले कसैको विरोधले विकास नरोकिने बताए। जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवर, सूर्यविनायक नगरपालिका उपप्रमुख जुना बस्नेत, वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटा, वडा नं ५ का वडाध्यक्ष रामकुमार जोशीलगायतले पुल उद्घाटनले स्थानीयलाई ठूलो टेवा पुगेको चर्चा गरे ।