पर्यटन/संस्कृति

भारतीय क्षेत्रमा पर्यटकीय गन्तव्यको प्रचार गरिँदै

 चितवन । चितवन र रुपन्देहीका पर्यटन व्यवसायीहरुले भारतीय सीमा क्षेत्रका शहरहरुमा पुगेर यहाँको पर्यटकीय गन्तव्यका बारेमा प्रचारप्रसार गर्ने भएका छन् । चितवन र लुम्बिनीका पर्यटन व्यवसायीहरु संयुक्त रुपमा गएर भारतीय सीमा क्षेत्रका शहरहरुमा यहाँको पर्यटकीय गन्तव्यका बारेमा प्रचारप्रसार गर्ने भएका हुन् ।

क्षेत्रीय होटल सङ्घका अध्यक्ष सुमन घिमिरेका अनुसार यही असार ३ गतेबाट भारतको पटना, वनारस र लखनउ पुगेर ६ दिनसम्म त्यहाँका ट्राभल एजेन्सी, होटल व्यवसायीलगायतसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको बताए। नेपाल पर्यटन बोर्डको सहयोगमा गर्न लागिएको यस कार्यक्रममा ती स्थलहरुमा गरिने कार्यक्रममा चितवन, रुपन्देहीसहित नेपालका विभिन्न क्षेत्रका पर्यटकीय महत्वका गन्तव्यहरुका बारेमा जानकारी गराइनेछ ।

यहाँ पर्यटनको हिसाबले बेमौसमको समय पारेर व्यवसायीहरु ती शहरहरु जान लागेका हुन् । नेपालका पर्यटकीय गन्तव्यमा पर्यटक आकर्षित गर्ने उद्देश्यले भारतका विभिन्न शहरमा प्रचारप्रसार अभियान थालिएको हो । चितवन राष्ट्रिय निकुञ्जलाई केन्द्रमा राखेर बारादेखि लुम्बिनीसम्मको पर्यटकीय गन्तव्यलाई सीमा क्षेत्रको विहार र उत्तर प्रदेशमा प्रचार गर्ने उद्देश्यले सो कार्यक्रम शुरु गर्ने भएको छ ।

सो क्षेत्रबाट एकै दिन यहाँ पर्यटक आउन सक्छन् । सो क्षेत्रको भन्दा नेपालको तापक्रम कम भएकाले नेपालमा भारतीय सीमा क्षेत्रबाट पर्यटक भित्र्याउन सकिने उद्देश्यका साथ शुरु गर्ने यो अभियानलाई सरकारले सहयोग गरेको छ ।