प्रदेश 2

गणतन्त्र दिवसको अवसरमा प्रभातफेरी

धनुषा । गणतन्त्र दिवसका अवसरमा प्रदेश नं. २ सरकारको अगुवाइमा आज बिहान प्रभातफेरी गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका कार्यालयको अगाडिबाट शुरु भएको प्रभातफेरी नगरको विभिन्न भागको परिक्रमा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा आएर सम्पन्न भएको थियो ।

प्रदेश नं. २ सरकारद्वारा १२ औँ गणतन्त्र दिवसका अवसरमा आयोजित प्रभातफेरी कार्यक्रमको समापन गर्दै मुख्यमन्त्री लालबाबु राउतले गणतन्त्रका लागि आफ्नो ज्यानको आहुति दिएका शहीदहरुप्रति श्रद्धाञ्जलि अर्पण गरे। “सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल लोकतन्त्रकै उत्कृष्ट नमूना रहेको छ”, उनले भने, “तीन तहको सरकार बनिसकेकाले विकास निर्माणको जिम्मा अब हामी सबैको काँधमा आएको छ ।”

मुख्यमन्त्री राउतले सबैले आ–आफनो जिम्मेवारी पूरा गरेर मुलुकलाई समृद्ध बनाउनुपर्नेमा जोड दिए ।  प्रभातफेरी कार्यक्रममा मुख्यमन्त्री राउतसहित प्रदेश सरकारका मन्त्री, सुरक्षा निकायका प्रमुख, जनकपुर उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रजिअ, कर्मचारीलगायतको सहभागिता रहेको थियो । प्रदेश २ सरकारले तीन दिवसीय कार्यक्रम गरी गणतन्त्र दिवस मनाउँदैछ । पहिलो दिन हिजो जनकपुरधामसहित प्रदेश २ का सरकारी कार्यालयहरुमा दीपावली, दोस्रो दिन आज बिहान प्रभातफेरी र साँझ दीप प्रज्ज्वलनको कार्यक्रम रहेको प्रदेश २ का प्रमुख सचिव दीपक सुवेदीले जानकारी दिनुए । भोलि चियापान कार्यक्रम गरेर तीनदिने कार्यक्रमको समापन गरिने उनले जानकारी दिए ।