गण्डकी प्रदेश

सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा

गोरखा । गोरखाको शहीद लखन गाउँपालिका–९ नाम्जुङमा स्थित रिपुथोकलाई सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिएको छ । विभिन्न तीन चरणमा खानेपानीको शुद्धता मापन गरी यहाँका ३२ घरधुरी परिवारले पिउने पानी सुरक्षित भएको प्रमाणित भएपछि सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो ।

“सबैभन्दा पहिले पानीको मुहानमा गएर कोलीर्फम मापन ग¥यौँ त्यसपछि आर्सेनिक र इको प्यारामिटर जाँच गरी उक्त खानेपानी पूर्णरुपमा सुरक्षित छ भन्ने पुष्टि भए पनि मात्र घोषणा गरिएको हो ।” उत्पीडित समुदाय विकास शाखा अनुसन्धान केन्द्र (कोसडर) गोरखाका कार्यक्रम संयोजक काजीराम रोकाले भने ।

उक्त मापनबाट पानीमा किटाणु भए नभएको थाहा हुने रोकाको भनाइ छ । उनले आयोजनाका स्रोत, भण्डारण, वितरण प्रणाली, धारा र घरायसी भण्डारण सबैको गुणस्तर मापनसमेत गरिएको समेत बताए । स्वच्छ खानेपानीयुक्त समुदाय घोषणा भएको उक्त आयोजनाको महीना महीनामा पानीको गुणस्तर र शुद्धता परीक्षण गर्ने व्यवस्थासमेत मिलाइएको रोकाको भनाइ छ ।

युनिसेफको आर्थिक र कोसडरको प्राविधिक सहयोगमा करीब पाँच लाखको लागतमा त्यहाँ कार्यक्रम सञ्चालन गरिएको उनले बताए। मङ्गलबार आयोजित घोषणा कार्यक्रममा बोल्दै शहीद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले पालिकाभित्र सबै नागरिकमा सुरिक्षत पिउनेपानीको उपलब्ध गराउन लागि परेको बताए ।

उनले ठूलो रिपुखोला खानेपानी आयोजनाका उपभोक्ताले पिउनेपानी सुरक्षित भएको घोषणा कार्यक्रम गाउँपालिकाले गर्व गर्न लायक कार्यक्रम भएको भन्दै विस्तारै सबै वडालाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।  कोसडर गोरखाले सिरानचोक गाउँपालिकाको खैरेनीवन खानेपानी आयोजनालाई पनि स्वच्छ खानेपानीयुक्त आयोजना घोषणाको अन्तिम तयारी गरिरहेको संयोजक रोकाले जानकारी दिए ।